काठमाडौं, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्व मन्त्रीसहित १५४ जनाको जमानत जफत भएको छ । निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ ।
गत बिहीबार सम्पन्न निर्वाचनमा ६८ स्वतन्त्रसहित १५४ जना उम्मेदवारको जमानत जफत हुने देखिएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए। त्यहाँ जमानत जफत हुनेमा पूर्वमन्त्रीदेखि निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका छन्।
क्षेत्र नं १ मा निवर्तमान सांसद्सहित २८ जना उम्मेदवारको जमानत जफत हुने भएको छ । नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका शम्भुलाल श्रेष्ठ बाहेक सबैको जमानत भएको हो । जमानत जोगाउन यस क्षेत्रका उम्मेदवारले कम्तीमा सात हजार ३८५ मत प्राप्त गर्नुपर्ने थियो । तर, यस क्षेत्रमा दुई जना बाहेक अन्य उम्मेदवारले १० प्रतिशत थ्रेसहोल्ड कटाउनु सकेनन् ।
यस्तै क्षेत्र नं २ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोसहित २९ जनाको जमानत जफत भएको छ । त्यसमा १७ जना स्वतन्त्र उम्मेदवार छन् । जमानत जोगाउन यस क्षेत्रका उम्मेदवारले सदर ७२ हजार ३८१ मतको १० प्रतिशतले हुन आउने सात हजार २३९ मत प्राप्त गर्नुपर्ने भएपनि उक्त मत प्राप्त नहुनेको जमानत जफल हुन लागेको हो ।
यस्तै सर्लाही ३ मा ३४ जनाको उम्मेदवारी परेको ३२ जनाको जमानत जफत हुने अवस्था रहेको छ । १९ जना स्वतन्त्रसहित ३२ जनाले कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसकेपछि जमानत जफत हुन लागेको हो ।
यसैगरी सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अमनिसकुमार यादव बाहेक सबै जनाको जमानत जफत भएको छ । ३८ जनाको उम्मेदवारी परेको यहाँ २३ जना स्वतन्त्रसहित ३५ जना उम्मेदवारको भने जमानत बापतको रकम गुमेको हो ।




प्रतिक्रिया