काठमाडौं, २५ फागुन । नेकपा (एमाले) ले यसपटकको प्रतिनिधिसभाको निर्वाचनमा शर्मनाक हार व्यहोरेको छ । चुनाव लडेका कोही पनि पदाधिकारीले जित हासिल गर्न सकेनन् । उनीहरु प्रायः सबै रास्वपाका नेताहरुसँग भारी मतान्तरले पराजित भएका छन् । जेनजी आन्दोलनपछिको अवस्थामा पार्टी पूनर्गठनको बहस हुँदाहुँदैपनि अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वमा तेहेर्याएर चुनावमा होमिएको एमाले सुरुदेखि नै रक्षात्मक बनेको थियो ।
सुरुमा अध्यक्ष ओलीले चुनाव नहुने र प्रतिनिधिसभा पूनःस्थापना गराईछाड्ने अडान लिएका थिए । ओली समानुपातिकतर्फको बन्दसूची बुझाउने दिनसम्म पनि चुनाव हुँदैन भन्ने अडानमा थिए । तर, पछि कांग्रेस, नेकपा र रास्वपालगायत सबै दलले निर्वाचनमात्रै अबको निकासको एकमात्र विकल्प भनेपछि ओली पनि दबाबमा परेर निर्वाचनमा होमिएका थिए ।
प्रत्यक्षतर्फको करिब करिब मतपरीणाम आईसकेको छ । एमालेले अहिलेसम्म ८ सिटमा जित हात पारेको छ । र, संखुवासभामा एक सिटमा अग्रता लिएको छ । संखुवासभा जित्दा पनि एमालेको जम्मा ९ सिट हुनेछ । यो निर्वाचनमा एमालेले प्रत्यक्षमा १० सिट पनि पुर्याउन सकेन । अहिले पार्टीभित्र नेतृत्व परिवर्तनको बहस उठेको छ । यसको नेतृत्व उपाध्यक्ष विष्णु पौडेलले लिएका छन् । कतिपय नेताले अहिले नेतृत्व परिवर्तनको बहस उठे पार्टी झनै कमजोर हुने भनेर पनि भनिरहेका छन् ।
एमालेले समानुपातिकतर्फ पनि कमजोर नतिजा व्यहोर्नुपरेको छ । रास्वपाले ४० लाख मत कटाउँदा एमालेले जम्मा ११ लाख ८० हजार मत पाएको छ । उपमहासचिव योगेश भट्टराई, महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डेलगायतका संस्थापनइतरका नेताहरुले पनि नेतृत्व परिवर्तनको बहस उठाउन थालेका छन् । आज र भोलिसम्म यो आवाज एकीकृत रुपमा मुखरित हुने चर्चा एमालेवृत्तमा चलेको छ ।
अध्यक्ष ओलीले भने यो निर्वाचनलाई लिएर खासै प्रतिक्रिया दिएका छैनन् । उनले आफूलाई भारी मतान्तरले पराजित गरेर विजयी हाँसिल गरेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई जितको शुभकामना दिएका छन् । पार्टीभित्र नेतृत्व परिवर्तनको आवाज उठ्न थालेपछि उनीनिकट सचिव महेश बस्नेतले भने प्रतिक्रिया दिएका छन् । उनले अहिले नेतृत्व परिवर्तनको बहसको औचित्य नभएको टिप्पणी गरेका छन् । स्वयम अध्यक्ष ओली भने अहिले प्रतिक्रियाविहीन खासगरी चुपचाप बसेका छन् । नेतृत्व परिवर्तनको बहस कुन रुपमा उठ्छ भनेर नजिकबाट हेरेर बसेका छन् ।




प्रतिक्रिया