लागुऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ


काठमाडौँ, २५ फागुन । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका-१० बाट ८ सय ३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २४ वर्षीय हरिश भट्ट पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको से.७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार उनलाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाको टोलीले फेला पारेको हो। सोही ठाउँको सडकघाटबाट १ ग्राम ७ सय ७० मिलिग्राम खैरो हेरोइनसहित कैलालीका दुई जना १८ वर्षीय किशोरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-१ त्रिबेणी चोकबाट करिब २ किलो ५८ ग्राम चरेशसहित ६९ वर्षीय डम्बर बहादुर शाही र अर्का एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो र वडा प्रहरी कार्यालय धनगढीको टोलीले डम्बर बहादुरको घर खानतलासी गर्दा उक्त परिमाणको चरेश फेला पारेको हो।

झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलमा भारतबाट पैदल आउँदै गरेका इलामका ३२ वर्षीय पासाङ छिरिङ काजी ६ ग्राम ६ सय ८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।

कपिलवस्तुको कृष्णनगर नगरपालिका-३ झण्डिनगरबाट ९ सय ३० मिलिग्राम खैरो हेरोइनसहित भारतीय नागरिक मोहसिन हाशमी पक्राउ परेका छन्। हाशमी पक्राउ परेपछि भएको थप अनुसन्धानका क्रममा यात्रुगेटबाट अर्का भारतीय नागरिक २३ वर्षीय दिपेन्द्र कश्यपलाई पनि १ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले आवश्यक अनुसन्धान अगाडि बढाएका छन्।