राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले लिए शपथ


काठमाडौं, २५ फागुन । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले आज पद तथा गोपनियताका शपथ लिएका छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरूलाई आज शपथ गराएका हुन् । गत माघ ११ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो ।

उक्त निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित भएका थिए। यस्तै, मधेस प्रदेशबाट महन्थ ठाकुर, रेखाकुमारी झा, धर्मेन्द्र पासवान र रन्जित कर्ण निर्वाचित भएका थिए ।

बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल निर्वाचित भएका थिए । गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित हुँदा लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका थिए। यस्तै, कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही, सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका थिए। राष्ट्रियसभाको उक्त निर्वाचनमा कांग्रेस र एमालेले गठबन्धन गरेका थिए ।