काठमाडौं, २५ फागुन । वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डितले रास्वपालाई जनताले मुलुकमा सुशासन र परिवर्तनको चाहना राखेर व्यापक समर्थन गरेको र दुई तिहाई मतसहित सुनौलो अवसर दिएको बताएका छन् । उनले रास्वपाले मुलुक बनाउनको लागि ठूलो अवसर पाएको बताए । तर, लक्ष्य पूरा गर्न र कार्यक्रम कार्यान्वयनको लागि धेरै चूनौति पनि रहेको उनको भनाई छ ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अधिवक्ता पण्डितले यस्तो बताएका हुन् । उनले रास्वपाले दुई तिहाई बहुमत आयो भनेर केपी शर्मा ओली र शेरबहादुर देउवाजस्तै दम्भ राख्न नहुने सुझाव दिए । दुई तिहाई बहुमत ल्याउँदैमा जनताले चाहेको सबै आकांक्षा पूरा नहुने उनको भनाई छ ।
उनले भने,‘दुई तिहाई बहुमत ल्याएको छ । १८४ मत कटाउँदैमा जनताले चाहेको संविधान संशोधनको एजेण्डा पास हुन्छ त ? दुई तिहाई बहुमत त सरकारलाई काम गर्नसक्ने आधार र अवस्था पनि छ । तर, त्यसका दुई वटा पाटा छन्, एउटा भनेको प्रशासनिक, न्यायिक र संवैधानिक सुधार । अर्को पाटो भनेको दुई तिहाईले संविधान संशोधन गर्नु हो ।’ दुई तिहाई बहुमतबाट न्यायिक, प्रशासनिक र संवैधानिक सुधारको लागि राष्ट्रियसभाको मतको आवश्यकता नपर्ने उनको तर्क छ ।




प्रतिक्रिया