काठमाडौं, २५ फागुन । राजनीतिक विश्लेषक हेमन्त सेढाईंले जेनजी विद्रोहपछि भएको निर्वाचनको परीणाम आठौं आश्चर्यजस्तो देखिएको बताएका छन् । उनले रास्वपाले निर्वाचनमार्फत पाएको सफलताको पछिको कारण सभापति रवि लामिछानेमाथि साँधेको प्रतिशोधको पापको घैटौं फुटेको टिप्पणी गरे । उनले पूराना दलहरुले गरेको अत्याचारको पनि यो निर्वाचनमार्फत विस्फोट भएको तर्क गरे ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपाली जनताले यो निर्वाचनमार्फत पूराना दललाई आरी घोप्टे पानीजस्तै खारेज गरिदिएको बताए । उनले बालेन शाहको नेतृत्वमा अब दुई तिहाईको सरकार बन्न लागेको भन्दै अब मतको अधिकतम सदूपयोग गर्न सुझाव दिए ।
उनले भने,‘जनताले जुन विश्वासको साथ मत दिएका छन्, अब सरकारले अब त्यही विश्वासको आधारमा डेलिभरी दिनुपर्छ । अब सरकारले जनतालाई हाताहाती वा नगदी डेलिभरी माग्नेवाला छन् । सरकार गठन भएको भोलिपल्टै, पर्सिबाटै डेलिभरी दिनुपर्छ । अब सरकारसँग चूनौति र अवसर दुवै छ ।’ तीन दिन रोड’शो गर्दा पनि जनताको विश्वास जितेर प्रधानमन्त्री बन्न सकिने भनेर बालेन शाहले उदाहरण देखाएको उनको भनाई छ ।
उनले कतिपय बौद्धिकहरुले अहिलेकै संविधानअनुसार कसैको बहुमत आउँदैन भनेर भन्ने गरेको पनि स्मरण गराए । यही संविधानअनुसार रास्वपाले दुई तिहाई बहुमत ल्याएको र नेपाली जनताले साथ दिएको सेढाईंको भनाई छ । उनले भने,‘जनताको तागद यसपटक प्रष्ट देखियो। यसमा जबरजस्त रुपमा बालेन फ्याक्टरले काम गर्यो । अर्को रवि लामिछानेको ब्राण्डले काम गर्यो ।’




प्रतिक्रिया