काठमाडौं, २६ फागुन । पूर्व कानूनमन्त्री तथा संविधानविद् गोविन्द बन्दीले जनताको सेवा गर्छु भन्ने दलहरुले जनताको सेवा नगरिकन आफू र आफ्न्तको सेवा गर्दाको परीणाम अहिलेको निर्वाचनमा भोगेको टिप्पणी गरेका छन् । यो निर्वाचनको परीणामलाई पूराना दलका नेताहरुले स्वीकारेको पनि उनको भनाई छ ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले निर्वाचनको परीणामबारे दलका नेताहरुको व्याख्या हेर्दा उनीहरुले आफ्नो वाचाअनुसार अघि बढ्न नसकेको देखिएको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जेनजी समर्थित पार्टीको रुपमा चित्रण गरे ।
रास्वपाले निर्वाचनमार्फत पाएको यो जितलाई संशयबाट उठेर अब उनीहरुले काम गर्न सक्छन् भन्ने बाटोतर्फ जानुपर्ने उनको भनाई छ । उनले भने,‘म जहिल्यैपनि जनताले अनुमोदन गरेको शक्तिलाई अनुमोदन गरिनुपर्छ भन्ने व्यक्ति हुँ । नेपाली राज्य यसमा चुकिसकेको छ । जतिवेला कार्की आयोग गठन गरियो, कार्की आयोगको म्याण्डेट के हुने थियो भन्ने कुरामा बुद्धि पुर्याउनुपर्दथ्यो । यसले प्रतिवेदन बुझाएको छ ।’ उनले आफूलाई कार्की आयोगको प्रतिवेदन पढ्न रुचि पनि नभएको स्पष्ट पारे ।
अहिले निर्वाचनमार्फत रास्वपाले पाएको दुई तिहाईको बहुमतलाई आफूले आकस्मिक र नयाँ कुरा नमानेको बन्दीको टिप्पणी छ । परम्परागत राजनीतिक दलहरुको मत खस्किएकोमात्रै भएकोले यी दलहरु समाप्त भए भनेर अर्थ लगाउनु गलत भएको उनको दाबी छ । यी पूराना दलहरुले नीति, नेतृत्व र सिद्धान्तमा पुर्नसंरचना गरिनुपर्ने बताए ।
उनले रास्वपाका नेताहरुलाई पूराना दलका नेताहरुसँग भेट्न सुझाव दिएका छन् । उनले भने,‘बालेन सरकार अथवा रास्वपाका साथीहरुलाई मेरो सुझाव के छ भने तपाईंहरु जतिसक्दो बढि ईंग्गेज हुनुहोस, यो मुलुक सबैको हो, सबैले बनाउने हो । कसैलाई पाखा, कसैलाई काखा गरेर हुँदैन । हिजो रविजीलाई इन्कार गर्दाको यो परीणाम हो । अब उहाँहरु (रवि र बालेनजी) ले केपी ओलीलाई गएर भेट्दा हुन्छ क्या । शेरबहादुर दाइलाई भेट्दा हुन्छ । उहाँहरुसँग पनि सहकार्य गर्दै मुलुक बनाउने जिम्मा पूरा गर्नुपर्छ ।’




प्रतिक्रिया