काठमाडौं, फागुन २६ । फागुन २१ सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको जारी मतगणना आज सकिने भएको छ । समानुपातिकतर्फको केहि क्षेत्रको मतगणना बाँकी रहेकाले आजसम्म सबै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुन सक्ने निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार संखुवासभा, धनुषा निर्वाचन क्षेत्र १, गोरखा निर्वाचन क्षेत्र १ र २ लगायत केही क्षेत्रको मतगणना जारी रहेको छ । यी क्षेत्रमा मतगणना जारी रहेकाले आजसम्म समानुपातिकतर्फ सबै क्षेत्रको मत परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।
आयोगले प्रत्यक्षतर्फ र समानुपातिकतर्फ सांसद जित्ने दल र व्यक्ति समेटिएको प्रतिवेदन चैत पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । अहिलेसम्म प्रत्यक्षतर्फ १६५ सिटको नतिजा आइसकेको छ। प्राप्त नतिजानुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र एक जना स्वतन्त्र उम्मेदवारले जितेका छन्।
त्यस्तै, आज बिहान साढे तीन बजेसम्म समानुपातिकतर्फ एक करोड सात लाख २० हजार ५६७ मत गणना गरिएको छ । आलसम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४, एमालेले १४ लाख ४७ हजार ६६४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख दुई हजार ७४३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ४७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार १९७ मत प्राप्त गरेको छ ।
जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४४४, जनमत पार्टीले ७८ हजार ९२७ प्राप्त गरेको छ । मतगणना जारी छ ।




प्रतिक्रिया