काठमाडौं, फागुन २६ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि बोलपत्र दिएका कम्पनीमध्ये प्राविधिक मूल्याङ्कनबाट सात कम्पनी छनोट भएका छन्।
आयोजनाले गत कात्तिक १६ गते अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रमा छ चिनियाँ, तीन भारतीय र एक टर्की कम्पनीसहित १० कम्पनीले आवेदन दिएका थिए। तर आवश्यक मापदण्ड पूरा गर्न नसक्दा तीन कम्पनी प्राविधिक चरणमै बाहिरिएपछि सात कम्पनी मात्र अर्को चरणका लागि योग्य ठहरिएका छन्। प्राविधिक रूपमा उत्तीर्ण भएका कम्पनीको मात्र आर्थिक प्रस्ताव खोलिने नियमअनुसार अब ती कम्पनीको आर्थिक प्रस्तावको मूल्याङ्कन प्रक्रिया अघि बढ्ने आयोजनाले जनाएको छ।
बोलपत्रमा सहभागी कम्पनीहरूले नेपाली कम्पनीसँग संयुक्त रूपमा आवेदन दिनुपर्ने सर्तअनुसार सबैले ज्वाइन्ट भेन्चर बनाएर प्रस्ताव पेस गरेका थिए। छनोट हुने सेवाप्रदायक कम्पनीलाई पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन गर्ने जिम्मेवारी दिइनेछ।
चैत १ गतेदेखि छनोट भएक ती सात कम्पनीको आर्थिक प्रस्ताव मूल्याङ्कन सुरु हुनेछ। यो प्रक्रिया करिब १५ दिन लाग्नेछ। त्यसपछि उत्कृष्ट ठहरिएको कम्पनीको नाम सार्वजनिक गर्दै सात दिनको दाबी–विरोध अवधि राखिनेछ। यदि उक्त अवधिमा कुनै आपत्ति नआएमा सो कम्पनीसँग सम्झौताको प्रक्रिया अघि बढाइनेछ।




प्रतिक्रिया