काठमाडौं, फागुन २६ । प्रधानन्यायाधीश सिफारिसका लागि ६ जनाको नाम संवैधानिक परिषद्मा पठाएको छ। न्यायपरिषद्ले संविधान तथा कानुनअनुसार योग्यता पुगेका सर्वोच्च अदालतका ६ न्यायाधीशको नाम परिषद्मा पठाएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले १८ चैतदेखि ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाका लागि परिषद्ले छ जनाको नाम सिफासिर गरेको हो ।
परिषद्का अनुसार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम भावी प्रधानन्यायाधीशका लागि पठाइएको हो।
न्यायपरिषद् ऐनको दफा ४ मा नियुक्तिको एक महिनाअगाडि सिफारिस गर्ने व्यवस्था छ । संविधानको धारा १२९ ले नेपालको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था गरेको छ। वर्तमान प्रधानन्यायाधीश राउतले १८ चैतदेखि अवकाश पाउँदै छन्।
२०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका राउत ८ वर्षमै प्रधानन्यायाधीश बन्न सफल भएका थिए ।वकिलबाटै सीधै सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश बन्न सफल भएका राउतले १८ महिना न्यायालयको नेतृत्व गरेका छन् ।




प्रतिक्रिया