शुक्लाफाँटामा जनावरबाट जोगिन ‘मेसवायर’


काठमाडौँ, २७ फागुन। शुक्लाफाँटा नगरपालिकामा जंगली जनावर प्रभावित क्षेत्रमा एक करोड ६७ लाख ४९ हजारको लागतमा तारजाली लगाउन थालिएको छ । जंगली जनावर अति प्रभावित तीन वडामा ‘मेसवायर’ तारजाली लगाउन सुरु गरिएको हो ।

नगरपालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार वडा नं १ मा दुई हजार ९०० मिटर, वडा नं ९ मा दुई हजार ५०० मिटर र वडा नं १२ मा ४०० मिटर गरी पाँच हजार ८०० मिटर मेसवायर लगाउन सुरु गरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्र नजिकका सामुदायिक वन क्षेत्रबाट स्थानीय किसानका खेतमा पस्ने जङ्गली हात्ती, चित्तल, बँदेल, नीलगाईलगायत जनावरलाई रोक्न मेसवायर लगाइएको हो ।

गत आर्थिक वर्षमा पनि सुदूरपश्चिम प्रदेश सरकारको अनुदान रु ७५ लाख र नगरपालिकाको रु ७५ लाख खर्चेर नगरपालिकाको वडा नं ८ र १२ मा ५.८८ किलोमिटर मेसवायर लगाइएको थियो ।

मेसवायर लगाइएसँगै वन्यजन्तु प्रभावित क्षेत्रमा राति प्रकाशको व्यवस्था गर्न नगरपालिकाले रु ३५ लाखको लागतमा ३० स्थानमा सौर्य बत्ती जडान थालेको छ ।