१६ भोट ल्याएका उम्मेदवारको चुनावी खर्चः साँझमा थकाइ मार्न ४५ हजारको भोड्का र लोकल रक्सी


काठमाडौं, फागुन २८ । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवारले निर्वाचन कार्यालयमा अत्यन्तै रोचक खर्च विवरण पेश गरेका छन्। ‘क्यामेरा’ चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका दिपक रावलले चुनाव प्रचारका क्रममा कार्यकर्ता र स्वयम्‌सेवकको १५ दिनसम्म ‘थकाइ मेट्न’ भन्दै भोड्का र लोकल रक्सीमा भएको ४५ हजार पाँच सय रुपैयाँ खर्चसमेत निर्वाचन कार्यालयमा बुझाएका छन्।

उनले जिल्ला निर्वाचन कार्यालय कैलालीमा पेश गरेको अनुसूची ४१ बमोजिमको खर्च विवरणमा ‘८८४८ भोड्का र लोकल रक्सी’ पिएको हिसाब स्पष्ट खुलाएका हुन्। लम्की चुहा नगरपालिका–२ का स्थायी बासिन्दा रहेका रावत लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका छन् ।

विभिन्न शिर्षकमा दुई लाख ३६ हजार पाँच सय रुपैयाँ खर्च गरेका उनले गत विहिबार समपन्न निर्वाचनमा भने जम्मा १६ भोट मात्रै पाएका छन् । रावले चुनावमा प्रतिस्पर्धा गरेको उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनालले जितेका छन् ।

सुशासन, भ्रष्टाचारविरुद्धको अभियान, नागरिक अधिकार र जनताको आवाज संसदसम्म पुर्‍याउने दृढ अठोटसहित उम्मेदवारी दिएको जनाएका रावलको यस्तो छ खर्चको हिसाब:

मनोनयन दर्ता दस्तुर-१०,०००
सवारी साधन र इन्धन-५५,०००
२६ वडा घरदैलो (खानांखाजा)-४५ हजार ५००
झण्डा, ब्याच, ब्यानर, स्टिकर छपाइ-३५,०००
विविध मिडिया खर्च-२५,५००
पानी, चिया, स्टेसनरी-२०,०००
रक्सी (थकाइ मेटान १५ दिन)-४५,५००