ओलीलाई नेतृत्वबाट हटाउन आवाज उठ्यो


काठमाडौं, २८ फागुन । नेकपा (एमाले) भित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ। गत मंसिरको अन्तिममा भएको ११औं महाधिवशेनबाट अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीलाई नेतृत्वमा निरन्तरता दिन नसकिने भन्दै पदाधिकारीमा रहेका नेताहरुले नै यो बहस सुरु गरेका छन् । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको सामना गर्न एमालेले ओलीलाई नै अध्यक्षमा महाधिवेशनमार्फत अनुमोदन गरेको थियो ।

ओलीलाई अध्यक्षमा ईश्वर पोखरेलले टक्कर दिएका थिए । तर, पोखरेल समूहले महाधिवेशनमा नराम्रो हार व्यहोर्नुपरेको थियो । ओलीकै नेतृत्वमा प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको एमालेले परीणाम भने नराम्रो व्यहोरेको छ । अहिले निर्वाचनको समिक्षा सुरु भएको छ । अध्यक्ष ओलीले आजमात्रै पनि आफूले यसपटकको निर्वाचनमा अपेक्षा गरेजस्तो परीणाम ल्याउन नसकेको स्विकारेका छन् ।

जनताको फैसला शिरोधार्य गर्नु नै आफू र आफ्नो पार्टीको कर्तव्य भएको उनले उल्लेख गरेका छन् । उनले भनेका छन्–‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’

उता, पार्टीका उपमहासचिव योगेश भट्टराईले अब नीति र नेतृत्वको समिक्षा हुने भन्दै अध्यक्ष ओलीको राजीनामा माग्नेसम्मको कुरा बाहिर ल्याएका छन् । उनको भनाईलाई लिएर एमाले पँक्ति नै तरंगित छ । गण्डकी प्रदेशका मन्त्रीसमेत रहेका एमालेका एक जना नेताले भट्टराईलाई एजेन्टसम्म भन्न भ्याएका छन्।

ओलीको राजीनामाको विषय योगेशले मात्रै नभएर विष्णु पौडेललगायतले पनि भित्रभित्रै अघि बढाएको चर्चा छ । उनीहरुले तत्काल पार्टी कमिटीहरुमा छलफल गरेर यसको निश्कर्षमा पुग्ने भन्नेमा छन् । योगेशले त ओलीले अब नेतृत्वबाट मार्गप्रशस्त नगरे निर्मम कदम चाल्ने भन्दै चेतावनी दिएका छन् । एमालेभित्र प्रखर वक्ताको रुपमा चिनिने नेता गोकुल बाँस्कोटाले पनि नेपालको कम्युनिष्ट पार्टी नसच्याए अब अर्कोपटक सक्किने चेतावनी दिएका छन् ।

बाँस्कोटाले फेशबुकमा लेखेका छन्,‘पाचवर्ष अघि मैले भनेको थिएँ– यो नेकपाको क्लाइमेक्स ९उत्कर्ष० र कोल्याप्स ९अवसान० को समय हो। वाम पार्टी मिलेका थिए र जनतामा अभूतपूर्व उत्साह थियो। तर विचार, सगंठन र व्यवहार दुई मितको अधिनस्थ थिए र एकताको आधार कमजोर, सक्किएको त छैन नसच्याए अर्को पल्ट सकिन्छ ।’ यो निर्वाचनमा एमालेले समानुपातिकतर्फ १४ लाख ५५ हजार ८६५ मत ल्याएको छ । प्रत्यक्षमा ९ सिट जितेको छ ।

पार्टीभित्र निर्वाचनको परीणामलाई लिएर अनेक चर्चा र बहस हुन थालेपछि आजमात्रै ओलीले पनि फेशबुकमार्फत निर्वाचनको समग्र परीणाम स्विकार गर्दै जनताको मतलाई सम्मानका साथ स्वीकार गर्ने लेखेका छन् । उनले लेखेका छन्

दिदीबहिनी तथा दाजुभाइहरू,
यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन।
लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।

यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो।

निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन।
हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।