आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी


काठमाडौँ, २८ फागुन । खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी गरेको छ । भारतबाट माग अनुसार नै ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिएपछि सरकारले आधा सिलिन्डर (७.१ केजी) मात्रै भरेर बिक्री गर्ने योजना बनाएको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अभाव नरहेको दाबी गरे पनि बजारमा ग्यास डिपोहरूले कृत्रिम अभाव सिर्जना हुँदा बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यासको वितरण केन्द्रमा सर्वसाधारणको सयौँको लाइन लाग्न थालेको छ ।

बाहिरका डिपोहरूमा ग्यास नपाएपछि उपभोक्ताहरू बाध्य भएर सिलिन्डर बोक्दै मुख्य वितरण कक्षसम्मै धाउनु परेको गुनासो गरिरहेका छन् ।