काठमाडौं, फागुन २९ । नेपाल आयल निगमले आजदेखि आम उपभोक्तालाई आधा सिलिन्डर मात्रै खाना पकाउने (एलपी) ग्यास उपलब्ध गराउने भएको छ। यसअघि २०७२ सालमा भारतले लगाएको नाकाबन्दीका बेला पनि निगमले उपभोक्तलाई आधा सिलिन्डर ग्यास वितरण गरेको थियो।
निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आजदेखि आधा सिलिन्डर मात्रै ग्यास बेच्ने निर्णय गरेको हो। ग्यास आपूर्तिमा समस्या नभए पनि उपभोक्ताले आवश्यकता भन्दा बढी परिणाममा ग्यास सिलिन्डर भण्डार गर्न थालेका कारण यसो गर्नुपरेको निगमले जनाएको छ ।
एलपी ग्यास अभाव नै हुने गरी आपूर्ति घटेको छैन तर मध्यपूर्वमा उत्पन्न संकटका कारण उपभोक्तताले यहाँ पनि ग्यास अभाव हुने हो कि भनेर भण्डारण गर्न चाहेको देखिएपछि निगमले आजदेखि आधा सिलिन्डर मात्रै बजारमा पठाउन ग्यास कम्पनीहरुलाई निर्देशन दिएको छ ।
इन्डियन आयल निगम (आइओसी) ले नेपालमा एलपी ग्यास र पोट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ। नेपालमा दैनिक माग धान्न हरेक दिन ९५ बुलेट ग्यास र प्रतिदिन १ लाख १० हजार ग्यास सिलिन्डरको माग हुने गरेको छ।




प्रतिक्रिया