समानुपातिक सांसद बन्न ‘रोइलो’ गर्नेलाई पार्टीबाटै निकाल्ने हर्कको चेतावनी


काठमाडौं, फागुन २९ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक सिटको विषयलाई लिएर असन्तुष्टि जनाउने नेता तथा कार्यकर्तालाई पार्टीबाटै निष्कासन गर्ने चेतावनी दिएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले असन्तुष्ट पक्षलाई चेतावनी दिदै समानुपातिकका विषयमा भइरहेको आलोचनाले सीमा नाघेको भन्दै कारबाहीको डन्डा चलाउने जनाएका छन् ।

उनले लेखेका छन्, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्नेछु, हद भो ’ निर्वाचन आयोगले फागुन २८ गते सार्वजनिक गरेको प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजाअनुसार श्रम संस्कृति पार्टीले जम्मा ४ सिट प्राप्त गरेको छ।

थोरै सिट संख्या तर आकांक्षी धेरै हुँदा पार्टीभित्र समानुपातिक सांसद छनोटलाई लिएर आन्तरिक किचलो बढेपछि हर्कले सार्वजनिक रुपमै रोइलो नगर्न आग्रह गर्दै सार्वजनिक रूपमै असन्तुष्टि पोख्नेहरूलाई साधारण सदस्यसमेत नरहने गरी हटाउने बताएका हुन्।