मध्यपूर्वको तनावले नौ दिनमा १२९ अन्तर्राष्ट्रिय उडान रद्द


काठमाडौं, फागुन २८ । उडान सुरक्षासम्बन्धी तनावका कारण पश्चिम एसियाका देशमा जारी गैरसैनिक उडान प्रतिबन्धले पछिल्लो नौ दिनमा १२९ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार फागुन १६ देखि कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरबलगायतका मुलुकमा जारी हवाई प्रतिबन्धका कारण फागुन २० देखि २८ सम्म उक्त उडान रद्द भएका हुन् ।

विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार फागुन १६ गतेयता कतार र कुवेतमा एउटा पनि उडान हुन सकेको छैन । युद्धको प्रभावबिच युएईको दुबई, सारजहा र अबुधाबीबाट फागुन २० देखि २७ सम्म २१ वटा उडान भएका छन् ।

उनले भने, “क्षेत्रीय तनावबिच युएईबाट फ्लाई दुबई र एयर अरेबियाले उडान गरे पनि नेपालबाट दैनिक डेढ दर्जन हाराहारी उडान रद्द हुँदै आएका छन् । पछिल्लो एक सातामा फ्लाई दुबई र एयर अरेबियाले २१ वटा उडान गरे पनि नेपालबाट हिमालय एयरलाइन्सले चार वटा मात्रै उडानको अनुमति पाएको छ ।”

उक्त उडानबाट पछिल्लो एक सातामा तीन हजार ६४९ यात्रु नेपाल भित्रिएका र नेपालबाट दुई हजार २८ यात्रु बाहिरिएको उनले बताए । एयर अरेबियाले १४, फ्लाई दुबईले पाँच वटा र हिमालय एयरलाइन्सले चार वटा उडान गरेको हो ।

फागुन १६ देखि कतार नागरिक उड्डयन प्राधिकरणले आफ्नो हवाई आकाशमा उडान प्रतिबन्ध लागेपछि नेपालमै रोकिएका दुई वाइडबडी जहाजमध्ये एक जहाज १० दिनपछि चार्टर्ड उडानमार्फत साउदीको रियाद हुँदै लन्डनको हिथ्रो विमानस्थलतर्फ लागेको छ भने अर्को जहाज अझै नेपालमै रोकिएको छ ।

नेपालमा दैनिक तीन उडान गर्दै आएको कतार एयरलाइन्सले पछिल्लो समय हिथ्रो, बर्लिन, कोपेनहेगन, म्याड्रिड, रोम र एम्स्टर्डममा सीमित राहत उडान गरिरहे पनि नेपालमा हुने उडान भने अझै अनिश्चित छ । विमानस्थल कार्यालयका अनुसार उडान रद्द हुँदा हरेक दिन दुुई करोड १० लाख रुपियाँभन्दा बढीको आर्थिक नोक्सानी हुँदै आएको छ