काठमाडौँ, २९ फागुन । काठमाडौं महानगरपालिका-१० शंखमुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित काठमाडौं बुद्धनगर बस्ने काठमाडौं बागबजार घर भएका १९ वर्षीय सिजन खड्गी समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-११ नगरकोट चोक बस्ने २० वर्षीय डानियल राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र डिकोलिक १ सय ४९ ट्याब्लेट सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-१९ बागफाँटा बस्ने २१ वर्षीया सुनिता रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० पिपलचौताराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-१२ कालागौडी बस्ने २४ वर्षीय अर्जुन राना समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०२-००४ प १५८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० दर्शी खल्लाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित लालझाँडी गाउँपालिका-२ कंज बस्ने २४ वर्षीय बलराम राना समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.१ प ६७७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-८ खप्टीनालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय २० मिलिग्राम सहित कृष्णपुर नगरपालिका-९ पिपरिया बस्ने ३१ वर्षीय पुरूषोत्तम रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पचुइबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, शिवसताक्षी नगरपालिका-११ झिलझिले बस्ने ३२ वर्षीय शिवा मल्लीक समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय १० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले शिवाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-१२ पत्थरकोटस्थित झोलुङ्गे पुलबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सोही नगरपालिका-११ बस्ने २१ वर्षीय शोम बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले बा.४७ प ४६६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ ।
मकवानपुर, भीमफेदी गाउँपालिका-५ छबेली बस्ने २० वर्षीय प्रशान्त रूम्वालाई अवैध लागूऔषध खेरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भीमफेदी गाउँपालिका-६ धोर्सिङ बस्ने २३ वर्षीय ज्ञानी डङ्गोलले दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-७ दुधमती खोला नजिकबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ४१ ट्याब्लेट, नाईट्राजेपाम ७७ ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने ४८ वर्षीय राकेश तामाङ र महोत्तरी पिपरा गाउँपालिका-७ बस्ने २६ वर्षीय आलोक चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले महोत्तरीबाट जनकपुरतर्फ आउँदै गरेको ज.१२ प ५२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ सिद्धार्थपथबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र नोर्फिन ५ सय एम्पुल सहित भारत घर भएका ४१ वर्षीय मोहमद आजमलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।




प्रतिक्रिया