स्कारपियोले जन्तीलाई ठक्कर दिंदा एक जनाको मृत्यु, ११ जना घाइते


काठमाडौं, फागुन ३० । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ बरहथवा नगरपालिका–१० सीतापुरस्थित सडकमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डि एल ९ सि जेड ०७७७ नम्बरको स्कारपियोले बिहेमा जन्ती आएका व्यक्तिहरूलाई ठक्कर दिदा ५० वर्षीय नारायण जर्गा मगरको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका बरहथवा नगरपालिका–९ निवासी करिब ५० वर्षीय नारायण जर्गा मगरलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएकोमा चिकित्सकले शुक्रबार मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । जसमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरूको बरहथवास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्कारपियो चालक बरहथवा नगरपालिका–१२ लौकठ निवासी करिब ४० वर्षीय नरेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।