भाइरल भिडियोबारे बिना गुरुङको स्पष्टीकरण : आफ्नै भिडियो हेरेर अस्वाभाविक लाग्यो, यस्तो अनावश्यक तामझाम कसैले पनि गर्नु हुँदैन


काठमाडौं, फागुन ३० । कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना गुरुङले सामाजिक सञ्जालमा भाइरल भएको भिडियोबारे स्पष्टीकरण दिएकी छन्। उनलाई केही व्यक्तिहरूले घेरा हालेर कार्यक्रमस्थलबाट बाहिर निकालिरहेको भिडियोमा विभिन्न टिप्पणीसहित भाइरल भएपछि उनले आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

गुरुङले उक्त भिडियोमा अगाडि–पछाडिको वास्तविक परिस्थिति स्पष्ट नभएकाले सामाजिक सञ्जालमा ‘महारानी शैली, चटक, नौटंकी’ जस्ता टिप्पणीहरू आएको बताउँदै यस्तो तामझामलाई आफूले पनि स्वाभाविक नठानेको उल्लेख गरेकी छन् ।

उनले फागुन २७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की जिल्ला कमिटीले ह्वाइटहाउस पार्टी प्यालेस, सृजनाचोकमा कास्की क्षेत्र नम्वर १, २ र ३ का प्रतिनिधि सभाका नव निर्वाचित सदस्यलाई शुभकामना तथा मतदातालाई धन्यवाद कार्यक्रम राखेको र पूर्वनिर्धारित कार्यक्रम समयमा सुरु हुन नसक्दा र सोही दिन काठमाडौं पुग्नुपर्ने बाध्यताकाबीच बुद्ध एयरले उडानको समय ४:५० बाट ३:४० मा सारिएको जानकारी दिएपछि हतारमा कार्यक्रमबाट बाहिरिदा शुभचिन्तकले खादा लगाउने र फोटो खिच्ने भीड बढेपछि स्वयंसेवकको सहयोगमा बाहिर निस्कने क्रममा केही व्यक्तिले घेरा बनाएर उनलाई गाडीसम्म पुर्‍याएको जनाएकी छन। पछि भिडियो हेर्दा त्यो दृश्य आफूलाई पनि अस्वाभाविक लागेको उनको भनाई छ ।


सार्वजनिक भिडियोबारे उनले फेसबुकमा लेखेकी छन्,

सम्पूर्ण आमाबुवा दाजुभाइ दिदि बहिनीहरुमा म बिना गुरुङको हार्दिक नमस्कार।
अहिले मेरो एउटा भिडियो राम्रै भाइरल भएको छ जसमा ४-५ जना दाजुभाइहरुले घेरा हालेर कतै निकाल्दै हुनुहुन्छ।
त्यो दृश्य भन्दा अगाडी र पछाडी के के थियो भन्ने स्पष्ट नहुँदा “यिनी पनि महारानी नै टोपलियिन, कहिँ नभाको जात्रा, घन्टी स्टायल, चटक, कमेडी, झोले स्टायल, नौटंकी” यस्तै यस्तै कमेन्टहरु आएकाछन्। मैले यसलाई कत्ति पनि अस्वाभाविक ठानेको छैन। यस्तो अनावस्यक तामझाम कसैले पनि गर्नु हुदैन ।
त्यसो भए तिमीले किन गरेउ त? भन्नुहोला।
अव भएको के थियो भने …
अस्ति फाल्गुनको २७ गतेका दिन हाम्रो पार्टीको कास्की जिल्ला कमिटीले ह्वाइटहाउस पार्टी प्यालेस, सृजनाचोकमा कास्की क्षेत्र नम्वर १, २ र ३ का प्रतिनिधि सभाका नव निर्वाचित सदस्यहरुलाई शुभकामना तथा मतदाताहरुलाई धन्यवाद दिने कार्यक्रम दिनको ११ बजे आयोजना गरेको थियो। कार्यक्रम लगभग १२ बजेतिर सुरु भयो। त्यहि दिनको साँझ ४:५० बजे हामिले काठमाडौँ जानको लागि बुद्ध एयरको ओपन टिकट काटेका थियौं । कार्यक्रम संचालनको क्रममा पार्टी प्यालेसको हलमा स्पिकरले राम्रो काम गरेको थिएन। जसले गर्दा स्पिकर परिवर्तन गर्नु पर्यो। र पहिले बोलिसक्नु भएको नेताको भाषण बुझिएन भनेर गुनासो आएपछि पुर्व माननीय शिव नेपालि ज्युलाई पुन बोल्न लगाइयो । जसले गर्दा कार्यक्रम फेरी अलि ढिला हुन पुग्यो। कार्यक्रम लगभग २:१५ बजेतिर सकियो र नागरिकहरुबाट शुभकामना लिने प्रक्रिया सुरु भयो। फेरी यता वुद्ध एयरले मेरो श्रीमानलाई तपाइको फ्लाइट ३:४० मा सारियो तेसैले छिटो आउनुहोला भनेर खबर आए पछि हामि त्यसपछि शुभकामना लिने भीडबाट बिदा भएर बाहिर निस्कने तयारि गर्यौं। तर त्यहाँ शुभचिन्तकज्युहरुले खादा लगाइदिने र फोटो खिच्न चाहने भिड यत्ति बिघ्न भयो कि मैले वारम्वार माफ गर्नु मलाई ढिला भयो मैले निस्कनु पर्ने भयो भन्दै हतारिइरहेको थिएँ। पछि म भोलेण्टिअर मित्रहरुको साथमा बाहिर त निस्के तर बाहिर गाडीसम्म आउने क्रममा भिड त सकिएछ तर दाजुभाइहरुले मलाई घेरा भित्र नै लिएर आउनु भएको रहेछ जो भिडियो हेरेपछि मलाइ पनि सार्है अस्वाभाविक लाग्यो। अव मैले त्यो बेला कसैसंग सुरक्षा दिनुस भनेर अनुरोध गरेको पनि थिइन र जो दाजुभाइहरुले घेरा हाल्दै मलाई बाहिरसम्म लिएर आउनुभएको छ, र जहाँ मेरो भिडियो सुट भएको छ, वहाँहरु सबैलाई धेरै धेरै धन्यवाद छ तर मैले वहाँहरु कसैलाई पनि व्यक्तिगत रुपमा चिन्दिन।
अन्तमा, मैले हजुरहरुलाई निवेदन गर्नु पर्दा, यो भिडियोले मलाई त कत्ति पनि बिचलित बनाएको छैन। किनकि मेरो इच्छा र चाहनाले त्यसो भएको होइन, तर मेरो चिन्ताको विषय के भने, कास्की क्षेत्र नम्वर ३ बासि आमाबुवा दाजुभाइ दिदि बहिनीहरु जसले मलाइ विश्वास, आश र भरोसा गरेर आफ्नो प्रतिनिधि बनाएर हाम्रो लागि केहि गर्न सक्छ भनेर चुनेर पठाउनु भएको छ, वहाँहरुले यो भिडियो हेर्दा मनमा कत्रो ठेस लाग्यो होला।
समग्रमा, म जुन क्षेत्रबाट प्रतिनिधि बनेर आएको छु त्यो क्षेत्रको नागरिकको सुखदुखको सारथि बन्न, वहाँहरुको आँसु पुछ्न, त्यो क्षेत्रको समग्र विकाशका लागि पहरेदार बन्न आएको हुँ। भिडियोमा देखाएको जस्तो सुरक्षा र तामझाम मलाइ कहिल्यै आवस्यक छैन। म सधैं नागरिकको आवाज बोकेर हिंड्नेछु र मेरो सुरक्षा नागरिकले नै गर्नु हुनेछ भन्नेमा मेरो विश्वास छ र त्यसैमा म निश्चिन्त पनि छु।
पुन एक पटक म फेरी पनि प्रतिबद्दता जाहेर गर्न चाहन्छु कि “म बिना गुरुङ समग्र कास्की क्षेत्र नम्बर ३ का आदरणीय आमाबुवा दाजुभाइ दिदि बहिनीहरुको म प्रतिको यो विश्वासलाई एक रत्ति पनि डग्मगाउन दिने छैन ।”
धन्यवाद