एनआरएनएको अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै


काठमाडौं, फागुन ३० । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने नारासहित काठमाडौंमा सुरु हुन लागेको सम्मेलन चैत २ गतेसम्म जारी रहनेछ ।

सम्मेलनअन्तर्गत संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सञ्चालन गरिनेछ । निर्वाचन भौतिक र अनलाइन दुवै माध्यमबाट हाइब्रिड मोडेलमा हुने बताइएको छ । यसपटक ४ हजार २ सय ८६ प्रतिनिधिले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट मतदानमा सहभागी हुनेछन् ।

यद्यपि नेतृत्व चयनका लागि सर्वसम्मतिको पहल पनि जारी रहेको आयोजकले जनाएको छ । सम्मेलनको समापन चैत २ गते साँझ ५ बजे प्रधानमन्त्रीको उपस्थितिमा हुने कार्यक्रम रहेको छ ।

सन् २००३ मा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सुरु भएको गैरआवासीय नेपाली अभियानले हालसम्म ९२ देशमा आफ्नो औपचारिक सञ्जाल विस्तार गरिसकेको छ । यस अभियानले विश्वभर रहेका नेपालीहरूलाई एक सूत्रमा बाँध्ने र नेपालको समृद्धिमा योगदान पु¥याउने उद्देश्य राख्दै आएको छ ।

आयोजकका अनुसार सम्मेलनमा गैरआवासीय नेपालीसम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकका संविधान प्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण, महिला, युवा तथा दोस्रो पुस्तालाई नेपालसँग जोड्ने विषयमा विभिन्न सत्रमार्फत छलफल गरिनेछ ।