काठमाडौं, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेता तथा सर्लाही–४ बाट निर्वाचित सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा गलत मान्छेहरूको घेराबन्दीमा रहेको आरोप लगाएका छन् । उनले थापालाई त्यस्तो घेराबन्दीबाट बाहिर निस्किन सुझावपनि दिएका छन् ।
आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले गगन थापा गलत मान्छेहरूको घेराबन्दीबाट बाहिर नआए उनको राजनीतिक भविष्यमाथि नै प्रश्न उठ्ने टिप्पणी गरे ।
रास्वपाको नेतृत्वमा बन्ने सरकारमा आफ्नो भूमिका के हुने भन्ने कुरा पार्टी र अब बन्ने प्रधानमन्त्री बालेन्द्र शाहले तय गर्ने कुरा भएको भन्दै आफूलाई यसबारेमा केही थाहा नभएको सिंहको टिप्पणी छ । तर, गैरसांसदहरुलाई मन्त्री बनाउने कुरा सामाजिक सञ्जालको भ्रममात्रै भएको उनको दाबी छ । उनले भने,‘संविधान त हामीले मान्नुपर्छ । हाम्रो संविधानले बाहिरबाट मन्त्री बनाउने परिकल्पना गरेको छैन । हामी संसद्बाहिरबाट मन्त्री बनाएर जग हसाउने काम गर्दैनौं ।’
आफू परिवर्तनको पक्षमा रहेकोले कुलमान घिसिङ, बालेन शाह र रवि लामिछानेसहित आफूहरु सबै मिल्नुपर्ने पक्षमा रहेको उनले स्पष्ट पारे । उनले कांग्रेस–एमालेको सरकार सदनबाट नभएर सडकबाट जान्छ भनेर आफूले बारम्बार भनेको पनि स्मरण गराए ।
उनले आफूले प्रधानमन्त्रीको लागि दाबी नगर्ने भन्दै आफूभन्दा राम्रो र देशलेपनि चाहेको व्यक्ति बालेन शाह भएको भन्दै प्रशंसा गरे । बालेन शाहलाई रास्वपामा लैजानको लागि आफूले पनि आग्रह गरेको उनको दाबी छ । मन्त्री बन्ने पनि आफ्नो कुनै चाहना नरहेको उनको जिकिर छ । तर, देशलाई बस्नलायक बनाउने आफ्नो एकमात्र चाहना रहेको सिंहको भनाई छ ।
सरकारले सय दिनभित्र जनतालाई सकारात्मक अनुभूति गराउनुपर्नेमा उनको जोड छ । उनले राजनीतिलाई अब व्यापारीकरण, पारिवारिकरण र भ्रष्टीकरणबाट मुक्त गर्ने पनि घोषणा गरे । अब रास्वपाका नेताहरुलेपनि गल्ती गरेको छ भने कारबाही हुने उनको उद्घोष छ ।
सिंहले अब बन्ने बालेन नेतृत्वको सरकारलाई पाँच वर्षसम्म कसैले पनि हल्लाउन नसक्ने ठोकुवा गरे । उनले भने,‘हामी राम्रो काम गर्छौं । हामीलाई नराम्रो काम गर्ने छुट छैन । जनताले पहिलोपटक आफ्नो शक्ति प्रयोग गरेका छन् । यो सरकारलाई पाँच वर्षसम्म कसैले पनि हल्लाउन सक्दैन् ।’ पाँच वर्ष नै अब बालेन शाह प्रधानमन्त्री हुने र कुनै आलोपालो सरकार नहुने उनको दाबी छ । सभापति रवि लामिछानेसँग राजनीतिक सोच राम्रो भएकोले पार्टी हाँक्ने उनको भनाई छ ।




प्रतिक्रिया