नेपालीको क्षमता सबै हिसाबले अब्बल छ, संकल्प गर्यौं भने देश बन्छ : डा. उपेन्द्र महतो


काठमाडौं, ३० फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं ग्लोबल कन्फ्रेन्स र इन्टरनेसनल कन्फ्रेन्स (विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन) सुरु भएको छ । काठमाडौंस्थित सोल्टी होटलमा परराष्ट्रमन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दिप प्रज्वलित गरेर अधिवेशनको उद्घाटन गरेका हुन् ।

संस्थापक अध्यक्ष उपेन्द्र महतोले संघको एकताप्रति हर्ष व्यक्त गरे । व्यक्तिगत सफलताको जुनसुकै उचाइमा पुगे पनि देश बनेन् भने त्यसको अर्थ छैन भन्देर नेपालका लागि नेपाली नाराका साथ गैरआवासीय नेपाली अभियान सुरु गरिएको बताए ।

नेपालीको क्षमता सबै हिसाबले अब्बल रहेको भन्दै मात्र संकल्पको अभाव रहेको बताए । संकल्प गर्यो भने धेरै समृद्ध हुनसक्ने उनको भनाइ थियो । देश अफ्ठेरो परेको, नियम कानुन अफ्ठेरो भएको बेला लडेर नेपाल बनाउने संकल्प लिनुपर्नेमा उनले जोड दिए । भिसा, काम गर्ने भिसाको समस्या देखिएको भन्दै पहिला देश बनाउनुपर्ने बताए ।

‘जबसम्म आफ्नो देश बनाउँदैनौ तबसम्म जुनसुकै देशमा बसे पनि विदेशी नै हुन्छौ त्यसैले जुनसुकै देशमा बसे पनि आफ्नो देश बनाउन लागौं,’ उनले भने । गैरआवासीय नेपाली ८० लाख नेपालीको अभियान भन्दै सय दुई जनाबीच मनमुटाव हुँदैमा अन्य नेपालीलाई ठेस नपुर्याउन अपिल गरे ।

उनले ८० लाख नेपालीले आफ्नो क्षमताअनुसार जुन योगदान गरेको छ उनीहरुलाई उत्साहित बनाइदिन संघलाई अपिल गरे । जबसम्म गैरआवासीय नेपालीको लगानी आउँदैन अरु विदेशीको लगानी नआउने बताए । देशभित्रका उद्योगी संघ/संस्थाले एनआरएनएसँग समन्वय गर्न छोडेको भन्दै मनमुटावले कसैलाई फाइदा नपुर्याएको उनको भनाइ थियो । उनले ८० लाख प्रवासीकै प्रतिनिधित्व गर्नेगरी काम गर्न संघलाई अनुरोध गरे । ‘सबै मिलेर अगाडि बढौं । देशलाई समृद्ध बनाउ,’ उनले भने ।