काठमाडौं, १ चैत। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ किलो ३ सय ग्राम सहित २ जना भारतीय नागरिकहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा २९ वर्षीय Muhammed Rahoof Arayanthopp र २५ वर्षीया Aysha Dilsha रहेका छन् ।
थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा Muhammed को साथबाट करिब २ किलो १ सय ४० ग्राम र Aysha को साथबाट करिब २ किलो १ सय ६० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
सुनसरी, इटहरी उपमहानगरपालिका-२० तरहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ३० मिलिग्राम र नगद १६ हजार ७ सय ४५ रूपैयाँ सहित झापा कनकाई नगरपालिका बस्ने ३० वर्षीय भिम बहादुर तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-३ कमलनगरको सब्जीमण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम ३ सय ७० मिलिग्राम र नगद ३१ हजार ७५ रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर नगरपालिका-३ कमलनगर डेरा गरी बस्ने सोही महानगरपालिका-१७ घर भएकी २७ वर्षीया आरोही परियार र भरतपुर महानगरपालिका-१६ बस्ने २८ वर्षीय बिशाल भट्ट रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सप्तरी, तिरहुत गाउँपालिका-२ बडहराबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ५ किलो ५ सय ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कंचनरूप नगरपालिका-७ सितापुर बस्ने ४३ वर्षीय ओम प्रकाश भन्ने जामुन महतो र २८ वर्षीया कबिता कुमारी माझी रहेका छन् । इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले कंचनपुरबाट डिमनतर्फ जाँदै गरेको प्र.२-०१-००१ ह ००२२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटो भित्र रहेको ४ वटा बोराबाट उक्त परिमाणको पदार्थ फेला पारी अटो चालक जामुन र अटोमा सवार कबिता कुमारीलाई पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २२ वर्षीय कमल शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाट पिपलचौताराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-८ क्याम्पस रोड बस्ने ३५ वर्षीय केशब बिष्ट र डडेल्धुरा आलिताल गाउँपालिका-३ मौरी बस्ने २३ वर्षीय कृष्ण महरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.७ प २२६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-११ गौडीबजार बस्ने ३४ वर्षीय लोकेन्द्र कठायतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले लोकेन्द्रले संचालन गरेको खुद्रा पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले सोही ठाउँ बस्ने १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित भारत लखिमपुर खिरी पलिया बस्ने २२ वर्षीय राजन गुप्तालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगज महानगरपालिका-१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ हजार ३ सय ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा परवानीपुर गाउँपालिका-१ रहरीया डिह बस्ने ४२ वर्षीय राम असिस राउत अहिर र पर्सा बहुदरमाई नगरपालिका-२ सिसियाडी टोल बस्ने ३० वर्षीय सुबास सराफ रहेका छन् । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज २७६५ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा २ वटा बोरामा रहेको उक्त लागूऔषध फेला पारी सुमो चालक राम र सुमोमा सवार सुबासलाई पक्राउ गरेको हो ।




प्रतिक्रिया