समानुपातिकतर्फको सूची रुजु गर्दै आयोग, सके आजै नभए तीन दिनभित्र निर्वाचितको सूची सार्वजनिक


काठमाडौं, चैत २ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका छ दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० निर्वाचित उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लस्टर’ अनुसार रुजु प्रक्रिया अघि बढाएको छ ।

निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो । जसमा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो । सदर मतमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्लस्टर अनुसार ५७ सांसदको सूची पेस गरेको छ ।

यसैगरी कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चार/चार उम्मेदवारको सूची क्लस्टर मिलाएर आइतबार पेस गरेको थियो । आयोगले क्लस्टर अनुसार सूची मिले नमिलेको रुजु प्रक्रिया अघि बढाइएको हो ।

दलहरूले क्लस्टर अनुसार बुझाएको निर्वाचित हुने उम्मेदवारको सूचीमा त्रटि नभए आजै निर्वाचितको सूची सार्वजनिक गरिने छ । दलहरूले क्लस्टर अनुसार बुझाएको सूचीमा केही त्रुटि भई सच्याउनुपर्ने अवस्थामा तीन दिनसम्म समय लाग्न सक्ने जनाइएको छ ।