काठमाडौं, २ चैत्र । जेनजी सहीद परिवार कल्याणकारी समाजले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनकि गर्नुपर्ने बताएका छन् । बास्तविक दोषी को हो भनेर जनतालाई स्प्ष्ट पार्नुपर्ने समाजको भनाई छ । सरकारको कुनै घर्राभित्र राख्न प्रतिवेदन ल्याईएको नभएर त्यसलाई सार्वजनिक गरेर घट्नामा दोषीहरु को को हुन् भनेर सार्वजनिक गरिनुपर्ने माग गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समाजले तत्काल प्रतिवेदन सार्वजनिक गरेर दोषीहरुलाई कारबाही नगरिए चुप लागेर नबस्ने चेतावनी पनि दिएको छ । यसअघि सरकारलाई बुझार्ईएको१४ बुँदे माग पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै ती मागहरु पनि पूरा गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

समाजका अध्यक्ष नारायण श्रेष्ठले रास्वपालाई जनताले दुई तिहाईको मत दिएको स्मरण गर्दै अब बन्ने नयाँ सरकारलाई जनताको हितमा काम गर्न शुभकामना दिएका छन् । उनले भने,‘यो सरकारल जेनजी सहीद र घाइतेहरुलाई पनि सम्मान गर्नुपर्छ । सहीद परिवारको घाउमा मल्हमपट्टी लगाउनुहुन्छ भन्ने आशा छ । हाम्रो माग भनेको दोषीलाई कारबाही गर्नु हो । कार्की आयोगले बुझाएको प्रतिवेदन जनतासामू सार्वजनिक गरिदिनुहुन अनुरोध छ ।दोषी जो जो परेको छ, कडाभन्दा कडा कारबाही हुनुपर्छ । तत्कालिन प्रम, तत्कालिन गृहमन्त्री, आईजिपी, गृहसचिवहरुलाई हाम्रो छोराछोरीको हत्यारा देखेका छौं ।’

यस्तै, समाजका सदस्य तथा वार्ता एवं सम्वाद समितिका संयोजक गणेशप्रसाद चौलागाईंले छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । सरकारले यथाशिघ्र त्यो प्रतिवेदन सार्वजनकि गरेर दोषीहरु यी यी हुन् भनेर देखाईदिनुपर्ने उनको माग छ । रास्वपाको दुई तिहाई नेतृत्वको सरकार बन्न लागेको भन्दै यो सफलता पाउनमा पनि जेनजी आन्दोलनका शहीद र घाइतेहरुको ठूलो योगदान गरेको स्मरण गराएका छन् । रास्वपाको सरकार चुक्यो भने आफूहरु सडकमा उत्रिन र सशक्त प्रतिपक्षको भूमिका खेल्न तयार रहेको उनको भनाई छ ।
समाजका सदस्य तथा सहीद परिवारका सदस्य ईश्वरबहादुर अधिकारीले पनि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । शहीद परिवारलाई पनि बोलाएर अब बालेन शाह नेतृत्वको सरकारले वार्ता गर्नुपर्ने उनको सुझाव छ । नेपालको कर्मचारीतन्त्र काँग्रेस, एमाले र माओवादीले भरिएकोले कर्मचारीतन्त्र उथलपुथल हुनुपर्ने उनको माग छ । ६ महिनाको अवधिमा पनि आफूहरुले अघि सारेको १४ बुँदे माग थन्काईएको भन्दै उनले गुनासो पोखे ।
समाजका सदस्य जगदीश भट्टले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन ६ महिनाभित्र सार्वजनिक गर्छु भनेर प्रधानमन्त्री सुशीला कार्कीले भनेको पनि स्मरण गराएका छन् । तर, यो सरकारले चुनाव गर्नेमात्रै म्याण्डेट नभएर दोषीलाई कारबाही गरिनुपर्ने रहेको पनि उनले सम्झाए । उनले आजको दिनमा सुशीला कार्कीले नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बेलामा पनि कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोमा दुःखेसो पोखे ।
शहीद अभिषेक चौलागाईंका बुवा दिनेश चौलागाईंले पनि तत्काल छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरेर दोषीहरुमाथि कारबाही गर्न माग गरेका छन् । शहीद र घाईते परिवारको माग पूरा हुनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा पूर्वसेनानी माधवसुन्दर खड्का र हेम खड्कालगायतले बोलेका थिए ।




प्रतिक्रिया