मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ


काठमाडौँ, २ चैत । कैलालीको वन निर्देशनलायमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले आज पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पक्राउ गरेको हो ।

मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले भट्टविरुद्ध विद्युतीय अपराध (साइबर अपराध) सम्बन्धी मुद्दामा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

भट्टले मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएपछि उद्योग मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।