काठमाडौं, २ चैत्र । नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा पूर्व सांसद लेखनाथ दाहाल (राजन) ले निर्वाचनको परीणामबारे समिक्षा भइरहेको बताएका छन् । निर्वाचनको परिणाम आउँदै गर्दा नेपाली जनताले युवा पुस्तालाई अघि बढाएको पनि उनले बताएका छन् ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पूराना दलप्रतिको वितृष्णाको कारण रास्वपालाई अत्याधिक मत दिएको स्पष्ट पारे । रास्वपालाई जनताले आशा, विश्वास र भरोसा गरेर मत नदिएको भई पूराना दलप्रतिको निराशा, वितृष्णाको कारण मत पाएको उनको दाबी छ । जनताले रास्वपाका नेता नचिनेको भएपनि घण्टीछाप चिनेको दाहालको टिप्पणी छ ।
उनले भने,‘योपटकको निर्वाचन हेर्दा जनताले पार्टी हेरेनन्, नेता हेरेनन्, विचार हेरेनन्, विरासत हेरेनन्, इतिहास हेरेनन्, जनताले थोरै योपटक आवेग हेरे । पछिल्लो बिबिसीको डकुमेन्ट्रीपनि आयो, रास्वपाले शासकीय कमजोरीलाई व्यवस्थित् गरेर बाहिर ल्यायो, प्राविधिक ढंगले निर्वाचन परिणामलाई प्रभावित पारेको छ ।जनताको फैसलालाई स्विकार गर्नुपर्छ ।’
उनले विगतमा पनि दलहरुले दुई तिहाई, बहुमत र एकल बहुमत पाएको इतिहास भएको भन्दै अहिले रास्वपाले पाएको बहुमत नयाँ नभएको बताए । उनले भने,‘अब बालेन शाह प्रम बन्दै हुुनुहुन्छ। उहाँ नयाँ चाहीँ होईन । शासकीय क्षमता पनि थाहा छ । मुलुक कसरी अघि बढ्छ भन्ने विषयमा छलफल हुनुपर्छ । संख्या त विगतमा पनि आएकै हो । सरकारबाट अपदस्थ हुँदै गर्दापनि केपी ओलीको दुई तिहाईनजिकको सरकार थियो । संख्या प्राविधिक विषय हो । मुलुक राष्ट्रिय स्वाधिनताको हिसाबले सर्वाधिक संकटमा छ । मध्यपूर्वमा युद्धको बाढी मडारिएको छ । समृद्धि र सुरक्षा साझेदारीको नाममा जबरजस्त बेसक्याम्प खडा गर्ने, नियोजित ढंगले पुष्टि हुँदै गएको छ ।’
उनले रास्वपाको नीति तथा कार्यक्रम के हो ? योजना के हो ? भन्ने अझै प्रष्ट नभएको टिप्पणी गरे । उनले भने,‘रास्वपासामू चूनौति छ । हाम्रो पार्टीका बहालवाला १६ जनाले रास्वपाबाट जितेर आउनुभएको छ । घण्टीले टिकट दियो, जितेर आउनुभयो । हाम्रो पार्टीबाट राजीनामा पनि अहिलेसम्म दिनुभएको छैन । त्यहाँ अहिले सबै प्रवृत्तिको केन्द्रीकरण भएको छ । हिजोको प्रवृत्ति छ । कसरी व्यवस्थापन गर्ने ? तर, हामीले २१ फागुनको परिणामलाई अस्विकार गरेको होईन । समिक्षा गरिनुपर्छ । सबैको सहयोग चाहिन्छ । रास्वपालाई राम्रो काममा सहयोग गर्नुपर्छ । खराब काम गरे संघर्ष सुरु हुन्छ ।’




प्रतिक्रिया