ओलीकै नेतृत्वमा एक वर्षभित्र एमालेले रिभाईभ गर्छ, अहिले नेतृत्व परिवर्तन हुँदैन : तामाङ


काठमाडौं, २ चैत्र । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले यो निर्वाचनमा पार्टीले योभन्दा राम्रो नतिजा ल्याउने आशा रहेको भएपनि त्यस्तो परिणाम आउन नसकेको स्विकारेका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘योभन्दा राम्रो पोजिसन आउने भन्ने थियो । एमालेप्रति वितृष्णाको स्वर सामना गर्नुपरेको थिएन। जनताको समर्थन नै पाएका थियौं । परिणाम आएपछि जनतालाई धन्यवाद दिन जाँदापनि जनताले साथ दिएका छन् । जनताले अन्त भोट हालेकोजस्तो लाग्दैन । परिणामलाई हेर्दा हामीलाई मत धेरै परेन ।’

एमालेले ६ महिनाअघिमात्रै महाधिवेशन गरेर आएकोले अहिले नै नेतृत्व र नीति परिवर्तनको बहस नचल्ने उनको दाबी छ । उनले भने,‘हाम्रो पार्टीमा यही नीति र नेतृत्वको निरन्तरता हुन्छ, एक वर्षभित्र हामी यही नेतृत्वमा पार्टीलाई रिभाईभ गर्छौं । हाम्रो छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ । समग्रतामा छलफल गर्नेछौं ।’

रास्वपालाई प्राप्त भएको मतको विश्लेषण गर्नुपर्ने तामाङको मत छ । उनले भने,‘रास्वपाले राम्रो जनमत प्राप्त गरेको छ । दुई तिहाईको सफलता प्राप्त गरेको छ । जनताले पनि रास्वपालाई अभूतपूर्व मत प्रदान गरेका छन् । जनताले रास्वपालाई अभुतपूर्व मत प्रदान गरेको देखिन्छ । यद्धपी त्यो मत कसरी प्राप्त भयो भन्ने कुराको छलफल गर्न र जाँच्न बाँकी नै छ । कुनै निर्वाचन क्षेत्रको मतपत्रहरुलाई अझै राम्रोसँग केमिकल जाँच गरौं भन्न चाहन्छु । त्यसपछि के भएको हो भन्ने कुरा अझै गहिरिएर जान्छ । रास्वपालाई बधाई भनेका छौं । शुभकामना पनि दिएका छौं ।’

उनले सदनभित्र आफूहरुको आवाज दबाउने चेष्टा गरियो भने सडकमा उठाउने चेतावनी दिए । उनले भने–‘सुशासनको सवालमा सार्वजनिक पदमा बस्नेहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानून बन्नुपर्छ । २०४८ सालयता सबै सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति विवरण छानबिन गरौं ।’