काठमाडौं, २ चैत्र । जनमत पार्टीका महासचिव तथा मधेश प्रदेशका पूर्वमन्त्री चन्दन सिंहले आफूहरुको राजनीतिक एजेण्डा यथावत रहेको बताएका छन् । पछिल्लो तीन वर्षमात्रै आफूहरु संसदीय राजनीतिमा आएको भएपनि विगत १२ वर्षदेखि विचारको राजनीति गरेको पनि उनले स्मरण गराए ।
विगत लामो समयदेखि मधेशको अधिकार, पहिचान, स्वायत्तताको विषय निरन्तरदेखि नै उठ्दै आएको स्मरण गराउँदै सिंहले भने–‘लोकतन्त्रको जरा नै अधिकारको लडाईं हो । त्यो लडाईं सुरु गर्ने नै मधेशीहरु हुन् । मधेश आन्दोलनले नै संघीयता ल्याएको हो । आज त्यही संघीयता र समावेशितामा टेकेर संविधान निर्माण भएको छ । त्यो चलिरहेको छ । नयाँ र पूराना दल सबैले स्विकारेका छन् । यो निर्वाचनमा हाम्रो पनि त्रुटि भएको होलान् । तर, समिक्षा गरेर अघि बढ्छौं ।’
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले रास्वपाको उदय दुई तिहाई बहुमतसहित भएकोले अब भावी बालेन शाहले जनकपुरमा गरेको वाचा पूरा गर्ने विश्वास दिलाए । उनले भने,‘बालेन शाहले संघीयतालाई बलियो र अधिकारसम्पन्न बनाउँछु भन्नुभएको छ । त्यही प्रतिबद्धता गरेको कारण उहाँले दुई तिहाई पाउनुभएको छ । संविधानको अनुसूचि ६ र ७ बाझिएको छ, त्यो सच्याउनुपर्छ । प्रदेश सरकारको अधिकार केन्द्र सरकार र स्थानीय सरकारले मिचिरहेको छ । यो संविधान संशोधन गर्नुपर्छ । दुई तिहाईको सरकार बन्दैछ । यो राम्रो कुरा हो ।’
उनले रास्वपाका सभापति रवि लामिछाने सरकारमा गईसकेको स्मरण गराउँदै सरकारमा बस्दा लामिछानेले पनि संविधान संशोधन गर्ने कुरा गरेको सुनाए । उनले भने,‘रास्वपा नेतृत्वको नयाँ सरकारलाई शुभकामनासहित संविधान संशोधन गरिनुपर्छ भन्दछु । लोकतन्त्र बलियो बनाउनुहुन्छ भन्ने विश्वास छ ।’ उनले आफूहरु सच्चिने बाटो रहेको भन्दै अझै जनतमा जाने विश्वास दिलाए । उनले भने,‘हामी सडकमा जान्छौं । अधिकारसम्पन्न भएन भने सडकमा गएर जनतालाई बलियो बनाउँछौं । सीके राउतले संसदीय राजनीति छोड्नुभएको हो । पदीय मर्यादामा जान नचाहेको भन्नुभएको छ । निर्वाचनमा डराउने कुरा छैन ।’




प्रतिक्रिया