रविविरुद्धको रिटमा आज पनि सुनुवाइ


काठमाडौं, चैत ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणबारे सर्वोच्च अदालतमा जारी सुनुवाइ आज पनि निरन्तर रहने भएको छ । आइतबार ‘हेर्दाहेर्दै’मा राखिएको उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता भएको रिटमा हिजो सोमबार पनि सुनुवाइ भएको थियो ।

हिजो सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ अवस्थामा राखिएको सुनुवाइ आजपनि निरन्तर हुने भएको हो ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद उत्पन्न भएको हो।

गत पुस ३० गते महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकिलको कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन् । निर्देशनमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता लिन भनिएको थियो । महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका हुन्।