अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ



काठमाडौं, ३ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ३ किलो १ सय ६० ग्राम सहित २ जना भारतीय नागरिकहरूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ४२ वर्षीय ABDUL KHALIK ABDUL HANNAN SIDDIQUI र ४० वर्षीय RIZWAN MOHD YUSUF रहेका छन् ।

त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्दा ABDUL को साथबाट २ किलो १ सय ग्राम र RIZWAN को साथबाट १ किलो ६० ग्राम उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम सहित बर्दिया बाँसगढी नगरपालिका-६ बस्ने २८ वर्षीय धन बहादुर कठायतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ख ३५६८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ हात्तीबोझा बस्ने ४० वर्षीय सुरेश बडायकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुरेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाट पिपलचौताराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ३० मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका-२ बाणि बस्ने २२ वर्षीय जीत बहादुर कुँवर, डडेलधुरा आलिताल गाउँपालिका-५ भाबर बस्ने २१ वर्षीय बिबेक श्रेष्ठ र २९ वर्षीय दिपेश बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.१ प ४९५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुई बस्ने ३४ वर्षीय हरि किशन रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ८० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी पचुईबाट खटिएको प्रहरीले हरिको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ होल्डिङ्ग सेन्टरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ८० मिलिग्राम सहित बेदकोट नगरपालिका-४ बस्ने ३२ वर्षीया अनिता बोहरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-७ सिमलघारी बस्ने २९ वर्षीय राजेश दर्लामी र २४ वर्षीय रमेश खनाल रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतको बलइ गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय त्रिर्जन चौधरी र घोडाघोडी नगरपालिका-३ घर भएका २२ वर्षीय सुनिल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने २६ वर्षीय नबिन बुढा समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ रमवापुरबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभोन २ सय ८६ ट्याब्लेट र नाईट्राजेपाम ३० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोहिणी गाउँपालिका-२ पजरकट्टी बस्ने ३७ वर्षीय एकलाख अहमद भाट र ३० वर्षीय भुपेन्द्र यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपी ५३ एवाई ४६०५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

कास्की, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट नियन्त्रित लागूऔषध फेनारगन १२ एम्पुल, डाइजेपाम १२ एम्पुल र बुप्रेनोर्फिन १२ एम्पुल सहित सोही महानगरपालिका-९ नागढुङ्गा बस्ने ३४ वर्षीय महेश उप्रेतीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।