काठमाडौं, ३ चैत्र । राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन हुने भएका छन् । २१ फागुनमो निर्वाचनमा जुम्लाबाट प्रत्यक्षतर्फ जित निकालेका शाही राप्रपाका प्रत्यक्षमा निर्वाचित एक्ला सांसद हुन् । राप्रपाले समानुपातिकतर्फ चार सिट पाएको छ । जसमा भरत गिरी, खुश्बु ओली, सरस्वती लामा र ताहिर अली छन् ।
पाँच सदस्यीय संसदीय दलको नेतामा शाही चयन हुने भएका छन् । संसद्बाट यसपटक ६ दलको मात्रै प्रतिनिधित्व छ । एक जना महावीर पुन स्वतन्त्र सांसदको हैसियतमा रहनेछन् । पहिलो दल रास्वपाले एक्लै दुई तिहाई मत ल्याएको छ । रास्वपाका १८२ जना सांसद छन् । दोस्रो दल नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो छ । एमाले २५ सिट र नेकपा १७ सिटसहित चौथो दल बनेको छ । यस्तै, पाँचौ दलमा हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टी छ । उसले प्रत्यक्षतर्फ तीन सिट जितेको छ ।
समानुपातिक ४ सहित श्रम संस्कृति पार्टीको ७ सिटको प्रतिनिधित्व छ । एमालेले रामबहादुर थापालाई दलको नेता बनाउने तयारी गरेको छ । नेकपाले प्रचण्डलाई नै दलको नेता बनाउँदैछ । यस्तै, श्रम संस्कृति पार्टीबाट हर्क साम्पाङ आँफै दलको नेता हुनेछन् । नेपाली कांग्रेसमा पाका नेताको रुपमा अर्जुननरसिंह केसी छन् । उनले दलको नेताको रुपमा काम गर्नसक्ने चर्चा छ । यद्यपी उनी प्रत्यक्षमा नभई समानुपातिकतर्फबाट सांसद बनेका हुन् ।




प्रतिक्रिया