काठमाडौं, ३ चैत । कथा यात्रा समूहले आख्यान मञ्जिरा शीर्षकमा कथाकार रमेश विकलका चार पुस्ताहरूको कथामाथि विमर्श कार्यक्रम सञ्चालन गरेको छ । गत शनिवार गोकर्णेश्वरको आरुबारीमा रमेश विकल साहित्य प्रतिष्ठानको सहकार्यमा यो समूहले आख्यान मञ्जिरा शीर्षकमा वरिष्ठ कथाकार विकलका चार पुस्ताको कथामाथि विमर्श कार्यक्रम सञ्चालन गरेको हो ।
रमेश विकल साहित्य प्रतिष्ठानका सचिव आलोक चालिसेको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा कथा यात्रा समूहका सदस्यले विभिन्न विषयमा समीक्षात्मक प्रस्तुति राखेका थिए । रमेश विकलका कथाकारितामाथि “नयाँ सडककको गीतमा गुञ्जिएको मानवतावादी चिन्तन” शीर्षकमा पवित्रा अधिकारी एवं “भ्वाइलेन र भाउजू” शीर्षकमा विश्व कुइँकेलले प्रस्तुति राखेका थिए ।
सुगन्धपुर कृतिका स्रष्टा कुइँकेलको अर्को कृति गोपीचा वि.सं. २०८० मा प्रकाशित कृतिमध्ये पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट १५ को छनोटमा परेको थियो । यस्तै रमेश विकलका छोरा एवम् गोरखापत्र संस्थानका पूर्व अध्यक्ष विजय चालिसेमाथि प्रमोद प्याकुरेलले र अर्का छोरा महेन्द्र चालिसेमाथि “अमूर्तताको अस्तित्वमा महेन्द्र चालिसे” शीर्षकमा दीपक लोहनीले प्रस्तुति राखेका थिए ।
यस्तै नातिपुस्ते कथाकार आलोक चालिसेमाथि हरीश कल्पित एवम् विकलकी पनातिनी आयुषा चालिसेको कथाकारितामाथि डा. हिमलाल श्रेष्ठ र कुमार काफ्लेले बोलेका थियो । कथा साहित्यमाथिको सिर्जनात्मक कदमका रूपमा यस कार्यले कथा सिद्धान्त र विकलको साहित्यिक विरासतको मात्र चर्चा नगरी पुस्तान्तरणसँगै कथ्य सोच्ने शैलीमा समेत कसरी परिवर्तन आएको छ भन्ने विषयमा समेत चर्चा ग¥यो ।
सातजना कथाकारले तयार गरेको समीक्षात्मक पुस्तिका हस्तान्तरणको क्रममा कथा यात्रा समूह र प्रतिष्ठानका बीच आख्यान मञ्जिरा कार्यक्रमलाई निरन्तरता दिने सहमतिसमेत भएको प्रतिष्ठानका सचिव चालिसेले बताएका छन् ।




प्रतिक्रिया