समयानुसार न्यायमुर्तिहरु पनि बदलिनुपर्ने बेला आयोः प्रधानन्यायाधीश राउत


शरद रेग्मी-

दाङ, ३ चैत्र । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले परिवर्तित अवस्थामा न्यायकर्मीहरुले पनि आफुलाई बदल्न जरूरी रहेको बताएका छन् । भदौ २४ गते जेनजी आन्दोलनको निशानमा परेको उच्च अदालत तुलसीपुरको अनुगमनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले अदालतमा लगाइएको आगो कतै त्यो न्याय सम्पादनप्रतिको आक्रोस त थिएन भन्ने प्रश्न गरेका छन ।

जलेका अदालतहरुका पहिलेजस्तै भौतिक संरचना निर्माणका लागि स्रोतसाधन जुटाउन सरकारलाई निष्ठाका साथ कोशिस गर्ने प्रधानन्यायाधीश राउतले प्रतिबद्धता व्यक्त गरे । फरक प्रशंगामा प्रधानन्यायाधीश राउतले उच्च अदालत अन्यत्र स्थान्तरण हुने कुरा सम्भव नरहेको बताए । उच्च अदालत तुलसीपुर प्रदेश राजधानी रहेको देउखुरी मौरीघाटमा स्थान्तरण गर्ने भन्ने कुरा हालसम्म आफुलाई कुनै कुरा थाहाँ नभएको स्पष्ट पारे ।

अदालत स्थान्तरणको तयारी लुम्बिनी प्रदेश योजना आयोगले गरिरहेको र त्यसका लागि गुरुयोजना तयार पारी रातो किताबमा बजेट छुट्याउनुका साथै जग्गासमेत तोकेको भन्ने कुरा यसअघि उच्च अदालतको अनुगमनका क्रममा आउँदा सर्वोच्चकी बरिष्ठतम न्यायाधीस सपना प्रधान मल्लले तुलसीपुरमा गरेकी थिइन । त्यसको तुलसीपुरमा बिरोध भएको थियो ।

कार्यक्रमलाई उच्च अदालतका मुख्यन्यायाधीस राजेश्वर तिवारी, तुलसीपुरका मेयर टीकाराम खड्का, बरिष्ठ अधिबक्ता डिल्लीराज धिताल लगायतले सम्बोधन गरेका थिए । प्रधानन्यायाधीश राउत मंगलबार दाङको तुलसीपुरमा रहेको ऐयरपोर्टमा अबतरण गरेका थिए । उनी घोराही नेपालगञ्ज र पोखरा निरीक्षणमा जाने समेत बताईएको छ ।