काठमाडौं, चैत ४ । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् । प्रधानमन्त्री कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गर्दै मन्दिरमा पूजा अर्चनाका साथै रुद्राभिषेक गरेकी छन्। देशमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएपछि उनले आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप रुद्राभिषेक गरेकी हुन् । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भन्ने कामनासहित मन्दिरमा पूजा अर्चना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भन्दै प्रधानमन्त्री विशेष रुद्राभिषेक गरेको समेत सचिवालयले जनाएको छ । उक्त अवसरमा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पनि सरिक रहेका थिए ।
तस्बिर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय





प्रतिक्रिया