काठमाडौं, ४ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले निर्वाचनपछि जनताले राखेको थान्कोमा बस्ने र पार्टीलाई पूनर्जीवन दिने भन्दै अहिले राजीनामाको विषयलाई धेरै चर्चामा ल्याउन नहुने बताएका छन् । यो निर्वाचनको परीणामलाई लिएर सभापति गगन थापाले जिम्मेवार लिईसकेको पनि उनको भनाई छ ।
हिजो (मंगलबार) प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘पार्टी सभापति भनेको मूल नेता हो, उहाँले नैतिक जिम्मेवारी लिन्छु भनिसक्नुभएको छ । हामीले पनि आफ्नो तर्फबाट नैतिक जिम्मेवारी लिन्छौं । अब पार्टीलाई १५औं महाधिवेशनतर्फ अघि बढाउँछौं ।’
यो निर्वाचनमा कांग्रेस एक्लै प्रतिष्पर्धामा गएको स्मरण गराउँदै उनले विगतमा पहिलो दल बन्नुमा गठबन्धन भएको स्मरण गराए । यो निर्वाचनमा पार्टीका सबैलाई समेट्ने कोशिस भएको पनि उनले दाबी गरे । उनले यो निर्वाचनमा कांग्रेस आत्मविश्वासहित आफ्नो खुट्टामा उभिएको भन्दै गर्व गरे । निर्वाचनमा पार्टीले व्यहोरेको परिणाम अप्रत्यासित भएपनि आफूहरु नसिद्दिएको उनको दाबी छ । उनले भने,‘अब हामी धुलो टक्टकाएर उठ्छौं ।’




प्रतिक्रिया