रास्वपाले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सक्नेमा एमाले नेता पोखरेलको आशंका, ‘कतै जेलेन्स्की बन्नुहन्छ कि भन्ने आशंका छ’ (भिडिओ-सहित)


काठमाडौं, ४ चैत्र । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले नेतृत्व रुपान्तरणको सवालमा कमजोरी भएको बताएका छन् । उनले भने,‘नेतृत्वको हकमा जसरी रुपान्तरण गर्नुपर्ने, नयाँ नेतृत्वलाई स्थापित गर्दै जाने कुरामा हाम्रा कमजोरी रहेकै हुन् । हामीले यो स्विकार गर्नुपर्छ । अब पनि यत्रो मुभमेन्टबाट हामीलाई शिक्षा दियो, अहिलेको नेतृत्वले रुपान्तरण गर्न सकेन, जनताले पत्याएन् । हामीले राम भनेको मान्छेलाई जनताले पत्याएनन् ।’

उनले रास्वपाले ल्याएको दुई तिहाईको बहुमत ल्याएको विषयमा कुनै असहमति नरहेको जिकिर गरे । उनले रास्वपाले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सक्छ कि सक्दैन् भन्ने कुरा मनमा रहेको टिप्पणी गरे । उनले भने,‘कतै जेलेन्स्की बन्नुहुन्छ कि भन्ने आशंका छ । कतै विभिन्न गठबन्धनमा लागेर राष्ट्रिय स्वाधिनता कुनै देशको विरुद्धमा, जसरी टिओबी भनेर आन्दोलनमा देखापरे, ती समूहरुको रक्षा गरेर, हाम्रो पञ्चशीलको सिद्धान्तमाथिनै कतै शंका तथा उपशंका उब्जिन्छ कि ? हामी कुनै पक्षको गठबन्धनमा जान सक्दैनौं । असंलग्न परराष्ट नीतिमा अडिनुपर्यो ।’

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पोखरेलले रास्वपाले निर्वाचनमा सफलता पाएको भन्दै एक सय दिनसम्म कुनै आलोचना नगर्ने बताए । राजनीतिमा पूरानो र नयाँ भन्ने भाष्य बनाईएको भन्दै उनले आलोचना गरे । पोखरेलले देश बनाउने कुरा र राम्रो काम गर्ने कुरामा सबैले समर्थन गरिनुपर्नेमा जोड दिए ।

सामाजिक सुरक्षालगायत विषयमा एमालेले नयाँ कदम चालेको पनि उनले स्मरण गराए । उनले सामाजिक सुरक्षा भक्ताको सवालमा एक सय रुपैयाँदेखि ४ हजार पुर्याउनेपनि एमाले नै भएको दाबी गरे । समृद्धिको सपना पनि एमालेले नै देखाएको र तुईन विस्थापित गर्ने काम गरेको पोखरेलको भनाई छ । विकास र समृद्धिको काममा एमाले अग्रपँक्तिमा रहेको उनको भनाई छ ।

उनले रास्वपाले प्रतिज्ञापत्रमा हिसाब गर्ने बताए । उनले भने,‘७५३ वटै स्थानीय तहमा चिकित्सक पठाउनुहुन्छ कि हुन्न भनेर हिसाब राख्छौं । आलोचनात्मक समर्थन हुन्छ । हामी संसद्मा सानो संख्यामा छौं । तर, वाचडगको रुपमा रहन्छौं ।’