राष्ट्रपतिलाई निर्वाचन परिणामको प्रतिवेदन बुझाइदै, समानुपातिक सांसदले प्रमाणपत्र बुझ्दै


काठमाडौं, चैत ५ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ । आयोगले आज बिहान साढे ११ बजे समानुपातिकबाट निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो ४ बजे राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउन लागेको हो । कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिने कार्यक्रम तय रहेको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार,समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएपछि आयोगले आजै बेलुकी साढे ५ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने छ। आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनका लागि एकल रूपमा स्पष्ट बहुमत प्राप्त गरेको छ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद निर्वाचित भएका छन्। निर्वाचनमा रास्वपा प्रत्यक्ष १२५ सिट र समानुपातिक ५७ सिटसहित कुल १८२ सिटसहित पहिलो दलका रूपमा उदाएको छ । नेपाली कांग्रेस प्रत्यक्षमा १८ सिट र समानुपातिकमा २० सिटसहित कुल ३८ सिट ल्याएर दोस्रो दल, नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रत्यक्षमा नौ सिट र समानुपातिकमा १६ सिट ल्याएर कुल २५ सिटसहित तेस्रो दल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रत्यक्षमा आठ सिट र समानुपातिकमा नौ सिट ल्याएर कुल १७ सिटसहित चौथो दल, श्रम संस्कृति पार्टी कुल सात सिट ल्याएर पाँचौँ दल र राष्ट्रिय प्रजातन्त्र पार्टी कुल पाँच सिट पाएर छैटौँ दल हुन पुगेको छ । निर्वाचनबाट राष्ट्रिय दलका रूपमा छ पार्टी मात्रै हुने भएका छन् ।