एमालेमा अहिलेमात्र होईन जीवनभर अहिलेको नेतृत्वलाई आलोचना गरेकाहरुले पनि अहिले नेतृत्व असफल भयो भन्छन् : विशाल भट्टराई


काठमाडौं, ५ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता विशाल भट्टराईले अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेकोले अहिले निर्वाचनको धेरै समीक्षा नगरिएको स्पष्ट पारेका छन् । यद्यपी समानुपातिकतर्फका सांसदहरु चयन गर्ने सवालमा भने एकपटक सचिवालय बैठक तय गरेको र नाम सिफारिश गरिएको भएपनि अन्य बैठक नबसेको उनको भनाई छ ।

आज (बिहीबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले अहिले निर्वाचनमा पार्टीले पराजय व्यहोरेको अवस्थामा नेतृत्वलाई दोष दिन थालिएकोमा आलोचना गरे ।

उनले भने,‘अहिलेमात्र होईन जीवनभर अहिलेको नेतृत्वलाई नसघाएको मान्छेले पनि अहिले नेतृत्व असफल भयो भन्छन् क्या, सफल हुँदा पनि तिनले सघाएका थिएनन् । अहिले जसले बाहिर बोल्दै हुनुहुन्छ, ०७४ सालमा सरकारमा बसेर, अरु धेरै कामहरु गरेर, धेरै हाईहाई भएको बेलामा पनि तिनले चाहीँ विरोध नै गरिरहन्थे । त्यो खालको मान्छेको आग्रहपूर्ण तर्कसँग सहमत हुन सकिँदैन । निर्वाचनमा एमालेलाई असाधारण तरिकाको धक्का लागेको छ।’ आगामी निर्वाचनमा यसखालको असफलता कहिल्यै नदोहोरियोस भनेर रणनीति बनाउनुपर्ने बेलामा अहिले मौका कुरेर नेतृत्वको आलोचना गरिनु गलत भएको उनको भनाई छ ।

जेनजी आन्दोलनपछिको निर्वाचनमा नेतृत्व परिवर्तन गरेर भाग लिएको भएपनि नेपाली कांग्रेसले समेत उल्लेख्य प्रगति गर्न नसकेको उनको भनाई छ । अहिलेको निर्वाचनमा पार्टीले खाएको धक्कालाई लिएर यही नै अन्तिम हो भनेर विश्लेषण गर्न नहुने भन्दै एमाले वैचारिक जगमा उभिएको दल भएकोले धुलो टक्टकाएर उ्ठ्ने दाबी गरे ।

जेनजी आन्दोलनको सत्यतथ्य बुझ्न गठित जाँचबुझ आयोगको प्रतिवेदन निर्वाचनअघि नै आउनुपर्नेृमा ढिला ल्याईएकोमा भट्टराईको आलोचना छ । उनले भने,‘यो प्रतिवेदन त निर्वाचनअघि नै ल्याउनुपर्ने थियो, हामीलाई हत्याको आरोप लागेको थियो, भदो २३ गतेको घटनाको सम्पूर्ण दोष हाम्रो अध्यक्षलाई लगाईएको थियो । तर, उहाँहरुले निर्वाचनलगत्तै प्रतिवेदन ल्याउनुभयो ।’