सभापतिको राजीनामाबारे निर्णय लिँदै कांग्रेस


काठमाडौं, चैत ६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा र भावी रणनीति तयार गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । सभापति गगनकुमार थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाएका छन् ।

सभापति थापाको राजीनामापत्रका सन्दर्भमा पनि आजको बैठकमा छलफल हुने छ । विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति निर्वाचित थापाको राजीनामापछि बैठकको सभापतित्व उपसभापति शर्माले गर्नेछन् ।

उपसभापति पुष्पा भुसालका अनुसार बैठकमा निर्वाचनको गहन समीक्षा हुने छ । सभापति थापाले राजीनामा बुझाएपछि कांग्रेसमा नयाँ बहस सुरु भएको छ तर केन्द्रीय कार्यसमितिको निर्णयपछि सभापति थापा पुनः जिम्मेवारीमा फर्किने सम्भावना रहेको छ । उपसभापति शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने जानकारी दिएका छन् । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।