काठमाडौं, ६ चैत्र । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले चैत्र १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् । रास्वपाका हाईकमाण्डको हिजो साँझ बसेको बैठकमा १२ गते सांसदहरुको शपथग्रहण समारोह राखिएकोले त्यसको भोलिपल्ट वरिष्ठ नेता शाहले प्रधानमन्त्रीके शपथ लिने समझदारी बनेको हो ।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ६ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । महावीर पुन एक जना स्वतन्त्र निर्वाचित भएका छन् । यसपटकको निर्वाचनमा रास्वपा झण्डै दुई तिहाई बहुमतसहित सबभन्दा ठूलो दल बनेको छ । रास्वपाले यसपटक धारा ७६ को १ बमोजिम सरकार बनाउने भएको छ । यसअघि धारा ७६ को २ बमोजिम सरकार बन्ने गरेका थिए । तर, यसपटक रास्वपाले एक्लै १८२ सिट ल्याएको छ ।
यसपटक रास्वपाले निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार बनेर बालेन शाहलाई अघि सारेको थियो । शाहको नाममा रास्वपाले अभुतूपूर्व सफलता प्राप्त गरेको छ । रास्वपाको हाईकमाण्डको हिजो बसेको बैठकमा चैत्र १३ गते प्रधानमन्त्रीको रुपमा वरिष्ठ नेताले शपथ लिने सहमति बनेको हो ।
शाहले पनि चैत्र १३ गतेको साइत रोजेको बताईन्छ । चैत्र १३ गते रामनवमी छ । शाहले रामनवमीको दिन रोजेर प्रधानमन्त्रीको शपथ लिने भएका हुन् । जनकपुरमा रामनवमी धुमधामसँग मनाईन्छ । शाहले संसदीय राजनीतिमा आउँदाखेरि जनकपुरबाट नै पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका थिए ।




प्रतिक्रिया