ग्रीस र स्पेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ



काठमाडौं, ६ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र स्पेन पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-३ बस्ने काभ्रे रोशी गाउँपालिका-६ घर भएका ३८ वर्षीय रकम बहादुर लोप्चन तामाङ र काठमाडौं महानगरपालिका-३१ बस्ने सिराहा मिर्चैया नगरपालिका-३ घर भएका २२ वर्षीय लक्ष्मण कुमार यादव रहेका छन् ।

पक्राउ मध्ये रकम बहादुरले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ र लक्ष्मण कुमारले स्पेन पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रकम बहादुरलाई काठमाडौं महानगरपालिका-१३ बाट र लक्ष्मण कुमारलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।