बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित तीन जना पक्राउ



काठमाडौं, ६ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २८ हजार ९ सय सहित ३ जना बुधबार दिउँसो पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका-१ घर भएकी ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ घर भएकी ३८ वर्षीया संगिता लामा र सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-७ घर भएका ४७ वर्षीय बिनोद लामा रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले चाइना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीन जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा अनिताको साथबाट १० हजार, संगिताको साथबाट १० हजार र बिनोदको साथबाट ८ हजार ९ सय अमेरिकी डलर फेला परेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।