सरकार गठनमा बालेनले रास्वपासँग सल्लाह गर्नुपर्छ : अधिवक्ता प्रा.डा. गान्धी पण्डित (भिडिओ–सहित)


काठमाडौं, ६ चैत्र । वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डितले रास्वपाले २१ फागुनको निर्वाचन प्राप्त गरेको सफलतामा बालेन शाहसँगै सो दलको संगठनको पनि उत्तिकै भूमिका रहेको बताएका छन् । रास्वपाका सभापति रवि लामिछानेको वाककला र व्यक्तित्वले पनि सो दलले बहुमत ल्याउनुमा सहयोग गरेको उनको दाबी छ ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अब बन्ने सरकार कस्तो बनाउने भन्ने विषयमा अर्थात क्याविनेट बनाउने सवालमा रवि लामिछाने र बालेन शाहबीच स्वतन्त्र रुपमा छलफल भएर निर्णय लिँदा राम्रो हुने सुझाव दिए । उनले भने,‘कसलाई मन्त्री बनाउने र कस्तो मन्त्रिमण्डल बनाउने भन्ने कुरामा बालेनजीले पनि सभापति रवि लामिछानेको कुरा सुन्नुपर्छ, पार्टीको हैसियत र भूमिकालाई हेरेर बालेनलाई पनि सहयोग गर्नुपर्छ । सरकार गठन गरिसकेपछि बालेनजीले स्वतन्त्र रुपमा काम गर्नसक्नुहुन्छ । तर, सरकार गठन गर्ने बेलामा रवि लामिछाने वा रास्वपासँग सल्लाह नगरिकन मेरै पकेटबाट मात्रै मन्त्री बनाउँछु भनेर दाबी पनि बालेनजीले गर्न मिल्दैन । संसदीय पद्धतीले त्यो स्विकार गर्दैन् ।’

यद्यपी रवि र बालेनबीच कुनै विवाद होला भन्ने आफूलाई नलागेको उनको भनाई छ । उनले बालेन शाहले अब हिजोको ढर्रालाई छोड्नुपर्ने सुझाव पनि दिए । विज्ञता, क्षमता र योग्यता भएको व्यक्तिलाई आँखा चिम्लिएर सरकार बनाउनुपर्ने उनको भनाई छ । बालेन शाह र रवि लामिछानेले जनता र जेनजी आन्दोलनको चाहनाबमोजिम सरकार बनाउनुपर्ने उनको सुझाव थियो ।