काठमाडौं, ६ चैत्र । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले अदालतमा गम्भीर मुद्दाहरु विचाराधिन रहेको व्यक्ति नेतृत्व भएको पार्टीले निर्वाचनमा सफलता हात पारेको भन्दै यो विषय लोकतन्त्रको लागि कत्तिको जायज अथवा सकारात्मक भन्ने विषय बहसको विषय भएको बताएका छन् ।
आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘जुन व्यक्तिमाथि गम्भीर मामिलाका मुद्दाहरु अदालतमा विचाराधिन छन् । त्यो व्यक्ति सभापति भएको पार्टीले यत्रो सिट ल्याएको छ । नेपाली राजनीतिक इतिहासमा यो एउटा विडम्बनापूर्ण तथ्य हो । रवि लामिछानेको मुद्दा के हुन्छ भन्ने कुरा अदालतले बोल्ला ।’
उनकाअनुसार रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधको मुद्दा र सम्पत्ति शुद्धीकरणको मुद्दा रहेका छन् । यी तीनवटै मुद्दा गम्भीर प्रकृतिका मुद्दा भएकोले यो चानचुने अपराध नभएको उनको टिप्पणी छ ।उनले भने,‘उहाँमाथि एउटामात्रै होईन, पाँच वटा सहकारीको रकम अपचलन गरेको भन्ने आरोप लागेको छ, एउटा अदालतमा मात्रै होईन, पाँच वटा अदालतमा मुद्दा विचाराधिन छन् । यसमा उहाँ एक्लैको मात्र संलग्नता छैन, यसमा जीबी राईलगायत धेरै मान्छेको संलग्नता छ, यो संगठित अपराध हो । अभियोजन पक्षले के देखियो भने एउटामात्रै सहकारी छैन, पाँच सहकारी छन्, केहीमा समान व्यक्ति छन्, केहीमा फरक फरक छन्, ठूलो संख्यामा व्यक्ति छन् ।’
गरिबीको रेखामुनि रहेकाहरुको रकम हिनामिना भएको र रवि लामिछानेको तलव नै पाँच लाख राखिएको पनि उनले स्मरण गराए । उनले भने,‘उहाँको आफ्नै तलब पनि पाँच लाख थियो, करोडौंको गाडीमा चढ्नुभयो, उहाँहरुलाई अलिकतिपनि हेक्का भएन, यो न्यूनतम कमाउने व्यक्तिहरुको पैसालाई मिसस्यूज गरिँदैछ भनेर, मिडियामा लगानी गर्नुभयो । पैसा अपचलन गरेर मिडियामा लगानी गरियो ।’
रवि लामिछानेले अमेरिकी नागरिकता त्याग नगरि नेपालको मिडियामा काम गरेको भन्दै त्यसलाई अनैतिक कार्यको पनि उनले संज्ञा दिए । त्यागिसकेको नेपाली नागरिकता लिएर पार्टी गठन गरेको र कहिले अमेरिकी र कहिले नेपाली राहदानी बोकेर वैदेशिक यात्रा गरेको भन्दै लामिछानेले गलत गरेको उनको आरोप छ ।
उनले लामिछानेको बैंक खातामा करोडौं रुपैयाँ भेटिएको र कारोबार गरिएको भेटिएको पनि उनले स्मरण गराए । महान्यायाधिवक्ता पीडकको वकिलको रुपमा प्रस्तुत भएको र लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय लिएको भन्दै उनले आलोचना गरे । उनले मुलुकलाई फेलियर स्टेट बनाउन नपाईने बताए । महान्यायाधिवक्ताको कार्यालयले एकपछि अर्को गरेर मुद्दा फिर्ता लिने काम गरिएको भन्दै उनले आलोचना गरे ।
उनले रवि लामिछाने संसदीय प्रक्रियामा भाग लिन नपाउने र लामिछाने सांसद नै बन्न नपाउने दाबी गरे । उनले भने,‘रवि लामिछानेले संसद्को प्रक्रियामा भाग लिन पाउनुहुन्न, उहाँ सांसद बन्न पाउनुहुन्न, मन्त्री बन्न पाउनुहुन्न, सम्पत्ति शुद्धीकरण ऐनको दफा २७ ले स्पष्ट रुपमा भनेको छ, सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधिन रहेको व्यक्तिको पद निलम्बनमा रहन्छ । सम्पत्ति शुद्धीकरणको अपराधलाई हाम्रो संहिताको दफा ११६ ले यसलाई फिर्ता लिन मिल्दैन । यो अपराध भनेको राष्ट्रियमात्रै नभएर अन्तर्राष्ट्रिय प्रकृतिको अपराध हो । यो फिर्ता लियो भने नेपाल कालो सूचीमा पर्नेछ । फिर्ता लियो भने नेपाल असफल राज्य हुन्छ ।’
सुशीला कार्की नेतृत्वको सरकारले पनि एकपछि अर्को गरेर कुशासनलाई प्रोत्साहन दिएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभामा मनोनित गरेको र प्रधानमन्त्रीका पिए आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ती गर्ने निर्णयको आलोचना गरे ।




प्रतिक्रिया