काठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री दीपक खड्काले पार्टीको संसदीय दलको नेतामा युवा नेता योगेश गौचनलाई अघि सारेका छन् । गौचन मुस्ताङबाट निर्वाचित सांसद हुन् । उनी ०७० को निर्वाचनमा पनि यही जिल्लाबाट निर्वाचित भएका थिए । गौचनको नेतृत्व क्षमताको प्रशंसा गर्दै पूर्वमन्त्री खड्काले संसदीय दलको नेतामा गौचनको नाम पार्टीका नेताहरुसमक्ष सिफारिश गरेका छन् ।
२१ फागुनको निर्वाचनमा कांग्रेसले शर्मनाक हार व्यहोरेको छ । कांग्रेसले प्रत्यक्षमा १८ सिटमा जित निकालेको छ भने समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ । ३८ सदस्यीय संसदीय दल हुने भएको छ । यो निर्वाचनमा रवि लामिछाने नेतृत्वको रास्वपाले दुई तिहाई बहुमतनजिकको नतिजा ल्याएको छ । उसले १८२ सिट जितेको छ । रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउँदैछ । निर्वाचनमा जानुअघि नै बालेन शाहलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएको थियो । ३५ वर्षीया बालेन शाह मुलुकको प्रधानमन्त्री बन्न लागेको भन्दै ठूला पार्टीहरुभित्र पनि नेतृत्व हस्तान्तरणको बहस चलेको छ ।यस्तोमा कांग्रेसभित्र पनि संसदीय दलको नेता कसलाई बनाउने भन्ने बहस चलेको छ । अबको प्रतिनिधिसभाकै सबैभन्दा पाको नेता अर्जुननरसिंह केसीले दलको नेतामा दाबी गरेका छन् । केसीले दलको नेतामा दाबी गरेको सन्दर्भमा पूर्वमन्त्री खड्काबाट भने युवा नेता योगेश गौचनको नाम सिफारिश गरिएको हो । उनले एमालेले पनि सुहाङ नेम्वाङलाई दलको नेता बनाउँदा राम्रो हुने भन्दै सन्देश प्रवाह गरेका छन् ।




प्रतिक्रिया