ईदले संयम, धैर्य र आत्मनियन्त्रणको पाठ सिकाउँन्छ: उपराष्ट्रपति


काठमाडौं, चैत ७ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा ‘सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गरोस्’ भनी कामना गरेका छन् ।

इस्लाम धर्मावलम्बीहरूको पर्व ‘ईद उल फित्र’ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “यस पर्वले हाम्रो राष्ट्रिय जीवनमा एकता, सद्भाव र सहअस्तित्वको सुगन्ध फैलाउँदै सबै नेपालीलाई साझा यात्रामा अघि बढ्न प्रेरित गरोस् भन्ने विश्वास व्यक्त गर्दै पुनः हार्दिक शुभकामना छ ।”

ईद–उल–फित्रले हाम्रो राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धतालाई अझ सबल बनाउने अवसर प्रदान गर्ने उल्लेख गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन, सामाजिक न्याय र समान अवसरलाई सुनिश्चित गर्न, राष्ट्रिय अखण्डता र पहिचानलाई बलियो बनाउन, विविधता र सहअस्तित्वलाई स्थायी शान्ति र समृद्धिको आधार बनाउन यस पर्वले हामी सबैलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।