काठमाडौं, ८ चैत । चीन सरकारले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दल बनेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि बधाई दिएको छ । चिनियाँ पक्षले एक सन्देशमार्फत नेपालसँगको परम्परागत मित्रतालाई अगाडि बढाउँदै व्यावहारिक सहयोगलाई सघन बनाउने र द्विपक्षीय सम्बन्धलाई अघि बढाउन सहकार्य गर्न तयार रहेको जनाउदै रास्वपालाई बधाई दिएको हो ।
यसअघि चीनले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा सरकारलाई बधाई दिएको थियो । निर्वाचन सम्पन्न भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले सामाजिक सञ्जाल एक्समामार्फत नेपालमा शान्तिपूर्ण, व्यवस्थित र सहज प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा बधाई दिएका थिए । आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेकोमा नेपाली जनतालाई हार्दिक बधाई दिदै राजदूत माओमिङले निर्वाचनका लागि नेपाली अधिकारीहरू तथा सबै क्षेत्रका जनताबाट गरिएका महान् प्रयासहरूलाई नोट गर्नुपर्ने भन्दै प्रशंसा गरेका थिए ।
त्यस्तै, यसअघि चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसीं) ले पनि रास्वपालाई बधाई तथा शुभकामना संदेश पठाउँदै गामी दिनमा दुई पक्षबीचको सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरेको थियो । सिपिसीको अन्तर्राष्ट्रिय विभागले रास्वपासँगको बढ्दो सम्बन्धप्रति खुसी व्यक्त गर्दै दुवै देश र जनताको हितका लागि साझा भविष्यसहितको समुदाय निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो ।




प्रतिक्रिया