तीन दिनदेखि बुटवल–नारायणगढ सडकमा सास्ती


काठमाडौं, चैत ८ । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक चिप्लो र हिलो भएपछि तीन दिनदेखि यातायात सेवा प्रभावित हुँदै आएको छ ।

दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न नसकेर बीच बाटोमै फसिरहेका छन् । पूर्वबाट पश्चिम जाने सवारीसाधन उकालोमा चिप्लिएर चढ्न सकेका छैनन् । पश्चिमबाट पूर्वतर्फ आउने सवारी भने केही मात्रामा सञ्चालन भइरहेका छन् ।

तीन दिनदेखि लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारीसाधन सडकमा रोकिँदा यात्रु र चालकहरू बाटोमै अलपत्र परेका छन् । दाउन्ने खण्डमा सडक विस्तारको काम जारी रहेकाले सामान्य वर्षामा समेत सडक अवरुद्ध हुँदै आएको छ ।